• १३ वैशाख २०८३, आइतबार

सर्लाहीका आधारभूत अस्पताल आएनन् सञ्चालनमा

blog

चक्रघट्टामा निर्माण भएको आधारभूत अस्पताल । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १३ गते  । पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको सर्लाहीको अधिकांश आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । 

ओलीले २०७७ मङ्सिर १५ गते देशभर तीन सय बढी पालिकामा १५ श-याका आधारभूत अस्पताल ‘भर्चुअल’ माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको थियो । सर्लाहीमा त्यसबेला शिलान्यास भएकामध्ये हरिवनस्थित सासापुरमा मात्र अस्पताल भवन निर्माण भएर प्रयोगमा ल्याइएको छ । 

अन्य पालिकामा भने कतै भवन बनेर अलपत्र छ भने कतै विवादका कारण अस्पताल भवन नै बन्न सकेन । जिल्लाको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले आधारभूत अस्पतालको भवन तयार भए पनि जनशक्ति नहुँदा सञ्चालनमा समस्या परेको गुनासो गर्नुभएको छ । आधारभूत अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारले दरबन्दी कायम गरिदिने आसमा बसेको चव्रmघट्टा गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले डाक्टर र अन्य स्वास्थ्यकर्मी दिन्छ कि भन्ने आस छ तर सङ्घले नदिए पनि अब गाउँपालिकाबाटै करारमा नियुक्त गरेर भए पनि अस्पताल चलाउनुपर्ला भन्ने सोच्दै छौँ ।” यहाँका पालिकाले आन्तरिक स्रोतबाट मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएका छन् । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिकामा पनि १५ श-याको अस्पताल तयार भइसके पनि सञ्चालन हुन सकेको छैन । 

गोडैताका नगरप्रमुख देवेन्द्रकुमार यादवले अस्पताल भवन तयार भए पनि सङ्घीय सरकारले तत्काल कुनै प्रकारको खर्च गर्न नसकिने र दरबन्दी पनि सिर्जना गर्न सक्ने अवस्था नरहेको बताएकाले अस्पताल सञ्चालन अन्योलमा रहेको बताउनुभयो । एमबिबिएस चिकित्सक राखेर पालिका एक्लैले अस्पताल सञ्चालन गर्न सक्ने अवस्था नरहेको नगरप्रमुख यादवको भनाइ छ । 

अस्पताल बनिसकेको र दरबन्दी नरहेकोबारे प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह र मधेश प्रदेशका स्वास्थ्यमन्त्री जङ्गीलाल राय यादवलाई निरीक्षणका व्रmममा जानकारीसमेत गराइसकेको नगरप्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबन्दी पार्न सङ्घ र प्रदेश दुवैतर्फ पहल गरिरहेको छु तर कुनै उपाय लागेको छैन ।”

आधारभूत अस्पताल अलपत्र रहँदा सर्लाहीका २० पालिकाका बासिन्दा मलङ्गवामा रहेको प्रादेशिक अस्पताल तथा लालबन्दी, हरिवन, बरहथवा र बयलवासमा रहेको नगर अस्पतालको भरमा छन् । सरकारी अस्पतालप्रति अझै पनि नागरिकस्तरमा विश्वास कायम हुन नसक्दा निजी स्वास्थ्य संस्थामा आकर्षण कायमै रहेको लालबन्दी नगरपालिका–६ का राजन पोखरेलले बताउनुभयो । 

निर्माण भएका आधारभूत अस्पताल सञ्चालनमा नआउँदा र साबिकका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवाकेन्द्रबाट प्रभावकारी सेवा प्रवाह नहुँदा ग्रामीण भेगको पालिकाका बासिन्दा सामान्य बिरामी पर्दा पनि सदरमुकाम मलङ्गवा तथा बजार क्षेत्रका निजी स्वास्थ्य संस्थामा धाउन बाध्य भएका हुन् ।