• १३ वैशाख २०८३, आइतबार

बजेट सुनिश्चित भएसँगै पुनर्निर्माण

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख १३ गते । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका चार सरकारी संरचना पुनर्निर्माण गर्न डेढ करोड रुपियाँ लाग्ने भएको छ । कर्णाली प्रदेश सरकारले संरचनाको पुनर्निर्माण गर्न लागेको हो । बजेटको स्रोत सुनिश्चित गरेर सरकारी संरचनाको पुनर्निर्माण गर्न लागिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ, निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले भन्नुभयो, “अहिले चार वटा सरकारी भवनको लागत अनुमान तयार भएको छ । जसमा मुख्यमन्त्री निवास, सोही ठाउँमा रहेको सुरक्षाकर्मीको निवास, कृषिमन्त्रीको निवास र प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय रहेका छन् ।” यी चार वटा संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि एक करोड ५० लाख लागत लाग्ने शाहीले जानकारी दिनुभयो । 

उहाँले आवश्यक संरचनामध्ये प्रदेश सभाको बैठक सभा हल निर्माण गरिएको बताउनुभयो । प्रदेश सभाको मर्मत तथा पुनर्निर्माणबारे भने अहिले केही निर्णय भएको छैन । आन्दोलनका क्रममा सुर्खेतमा २१ करोड १० लाख ५६ हजार रुपियाँ बराबरको सरकारी सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । आन्दोलनमा वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी प्रभावित भएको थियो । नगरपालिकामा मात्रै १० करोड ९० लाख ८७ हजार आठ सय रुपियाँ बराबरको क्षति पुगेको थियो हो । आन्दोलनकारीले नगरपालिकासहित १ देखि १२ नम्बरसम्मका वडा कार्यालयमा आगजनी गरेका थिए । 

सात महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माण सुरु हुन सकेको छैन । जेनजी आन्दोलनपछि सुस्त बनेको प्रदेश सरकारले आफ्नै क्षतिग्रस्त संरचनाको मर्मतसम्भारमा ध्यान दिन सकिरहेको छैन ।