• १३ वैशाख २०८३, आइतबार

त्रिवेणी–बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या, स्थानीयलाई सास्ती

blog

बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा राखिएको नेपाल टेलिकमको टावर । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख १३ गते ।
जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् ।

नेटवर्क सहज बनाउन नेपाल टेलिकमले तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि स्थानीयले अझै पनि प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

गाउँगाउँमा टेलिफोन टावर निर्माण भए पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्रिवेणी र बुढीगङ्गा क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यसअघि छिमेकी त्रिवेणी नगरपालिका–४ को तोलीमा रहेको टावरको भरमा स्थानीयले फोन सेवा प्रयोग गर्दै आएका थिए ।

बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालका अनुसार पहिले तोलीको टावरले राम्रो काम गरे पनि अहिले गाउँमै टावर बनेपछि झन् समस्या बढेको छ ।

उहाँले भन्नुभयो, “तोलीको टावरले पहिले राम्रो काम पर्थ्यो, अहिले गाउँमै टावर बनेपछि फोन लाग्ने ठाउँमा पनि नलाग्ने भएको छ । यो समस्या गत वर्षदेखि देखिन थालेको हो ।”

स्थानीयले पटक–पटक नेपाल टेलिकम शाखा बाजुरामा जानकारी गराए पनि समस्या समाधान नभएको उहाँको भनाइ छ ।
यस विषयमा नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बानेगाउँ क्षेत्रमा नेटवर्क सहज बनाउन सब–टावर राखिएको भए पनि समस्या आएकोबारे औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले टावरले राम्रो काम गरेको थियो, अहिले केही समस्या आएको हुन सक्छ । स्थानीयले समस्या भएको हो भने औपचारिक रूपमा पत्राचार गर्नुपर्छ ।”

यता बुढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँका अनुसार विगत पाँच महिनादेखि क्षेत्रमा नेटवर्क समस्या रहँदै आएको छ ।

उहाँले भन्नुभयो, “हामीले नेपाल टेलिकम शाखा बाजुरालाई धेरै पटक निवेदन पठाएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।” स्थानीयका अनुसार पछिल्ला केही दिनयता फोन सेवा अझै कमजोर भएको छ ।