• १३ वैशाख २०८३, आइतबार

पत्रकार महासंघ मकवानपुरको साधारणसभा जेठ ९ गते

blog

नेपाल पत्रकार महासंघ मकवानपुर । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख १३ गते ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १९ औँ साधारणसभा आगामी जेठ ९ गते हुने भएको छ । महासंघ मकवानपुरको शनिबार बसेको कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामार्फत ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि संशोधन तथा महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित प्रसूति प्रवर्द्धन कोष कार्यविधि २०८२ अनुमोदनका लागि पेश गरिने भएको छ ।

साधारणसभामा महासंघका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा मकवानपुर शाखाले स्थापना गरेको ‘न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार’ र हेटौँडाका व्यवसायी महेन्द्र राउतद्वारा स्थापित ‘पार्वतीमान–बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

पुरस्कार छनोटका लागि उपाध्यक्ष ध्रुव अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । दुवै पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यसअघि न्हुच्छेमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार दीपक अधिकारी, नानीमैया विष्ट, होम कार्की, रोशन पराजुली, खेम बोलखे, अञ्जली थापा र सरिता दाहालले प्राप्त गरिसकेका छन् ।

त्यस्तै, २०६९ सालमा स्थापना गरिएको पार्वतीमान–बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कार कौशल पाण्डे, कृष्णराम परियार, राममणि दाहाल र नवराज शर्माले प्राप्त गरिसकेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारीले जानकारी दिनुभयो ।