अमरराज नहर्की
तनहुँ, वैशाख १३ गते । इन्धनको मूल्यवृद्धिका कारण तनहुँको देवघाटधाममा हुने महायज्ञ नै स्थगित गरिएको छ । देवघाट गाउँपालिका–५ स्थित भर्जन कालिका मन्दिरमा यही वैशाख २१ गतेदेखि आयोजना गर्ने भनिएको ‘बृहत देवीभागवत विराट ज्ञान महायज्ञ’ स्थगित गरिएको हो ।
इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धि र त्यसले जनजीवनमा पारेको आर्थिक प्रभावले गर्दा महायज्ञ स्थगित गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिनुभयो । समितिको भेलाले इन्धनको मूल्यवृद्धिले गर्दा सिर्जित महङ्गो ढुवानी र वर्तमान आर्थिक असहजताले महायज्ञको लक्ष्य प्राप्तिमा अवरोध पुर्याउन सक्ने निष्कर्ष निकालेकोले स्थगित गरिएको उहाँले बताउनुभयो । हालको परिस्थितिमा महायज्ञ आयोजना गर्दा लक्ष्य अनुसारको सहयोग जुट्न कठिन हुने देखिएकाले आगामी २०८३ चैत २४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको जानकारी न्यौपानेले दिनुभयो ।
इन्धनको मूल्य निरन्तर बढिरहेको र जसले गर्दा ढुवानी र व्यवस्थापन खर्च निकै महङ्गो हुने देखिएकाले दाता र भक्तजनहरूलाई पनि आर्थिक रूपमा थप भार नपरोस् भन्ने हेतुले महायज्ञलाई सार्ने निर्णय गरिएको समितिले जनाएको छ । मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएपछि आर्थिक सहयोग जुटाउन महायज्ञ लगाउने यसअघि सङ्कल्प गरिएको थियो । शास्त्रीय मान्यता अनुसार आगामी असार ३१ गतेदेखि बृहस्पति अस्त हुने भएकाले पनि यो वर्ष अन्य समयमा महायज्ञ गर्न नमिल्ने समितिले जनाएको छ । अब यो महायज्ञ २०८३ चैत शुक्ल पक्ष प्रतिपदा (चैत २४ गते) देखि सुरु भई २०८४ वैशाख ३ गते समापन हुनेछ ।
समितिका अनुसार यो बिचको अवधिमा मन्दिरको बाँकी निर्माण कार्यलाई पूर्णता दिने, मन्दिर मार्गको मर्मत गर्ने र भर्जनखोलामा कल्भर्ट निर्माण गरी भक्तजनलाई आवागमन सहज बनाउने योजना अघि सारेको छ । १५ दिने मेलाको निरन्तरता स्वरूप आगामी वर्ष भव्य रूपमा महायज्ञ आयोजना गरिने छ । भाकल गरेको कुरा पुरा हुने विश्वासमा यस मन्दिरमा भक्तजनको घुइचो लाग्ने गर्दछ ।