बढ्दै छन् आर्थिक अपराधका घटना
बागमती प्रदेशमा आर्थिक अपराधका घटना दिनहुँ बढ्दै गएका छन् । प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पाँच आर्थिक वर्षको तथ्याङ्कले आर्थिक अपराधका घटना बढेको देखाएको हो ।
हट्दैछ दानसाँगुखोलाको समस्या
बाजुराको पूर्वीउत्तर क्षेत्रका बासिन्दाको दानसाँगुखोलामा ज्यान जोखिम राखेर वारपार गर्नुपर्ने समस्या बल्ल हट्ने भएको छ । मार्तडी–कोल्टी सडकको बिचमा पर्ने दानसाँगुखोलामा पुनल बन्ने भएपछि स्थानीय खुशी भएका छन् । विगत लामो समयदेखि पुल नहुँदा कुन्डावासीले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको थियो । बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगुखोलामा पुल निर्माणको काम तीव्र पारेपछि बुढीनन्दा हिमाली स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकालगायतका स्थानीयलाई समेत बर्खाको समय निकै सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
सडक क्षेत्रका संरचना हटाउन अन्तिम चेतावनी
भागेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने सडक क्षेत्रका संरचना हटाउन अन्तिम चेतावनी दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणाधीन बागबजार–बगरकोट–सिराड–रूपाल सडकखण्डमा पर्ने संरचना हटाउन सूचना जारी गरेको छ । पूर्वाधार विकास कार्यालय डडेलधुराले जारी गरेको सूचनामा सडक क्षेत्राधिकारभित्र पर्ने घरटहरा तथा अन्य संरचना सात दिनभित्र स्वयम् हटाउन सम्बन्धित घरधनी तथा जग्गाधनीलाई आग्रह गरेको छ ।
नागरिकता लिन दुई साता
बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण प्रक्रिया ढिलो हुँदा सेवाग्राही दुई सातासम्म कुर्न बाध्य छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत नागरिकता दिने अधिकारी शाखा अधिकृत शङ्करबहादुर बोहोराको गत मङ्सिर २२ गते जिल्लाकै सिगास गाउँपालिकामा सरुवा भएपछि उतिबेलादेखि नै नागरिकता सेवा बन्द भएको हो । उहाँको सरुवा भएपछि दुई महिना नागरिकता सेवा पूरै ठप्प भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमा कार्यरत कम्प्युटर अपरेटर एवं सूचना अधिकारी बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।
अमेरिका बुझ्न सघाउने ‘मैले देखेको अमेरिका’
पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विराटनगरमा विमोचन गरिएको छ । नेपाली लेखक सङ्घ, कोशी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा लेखक अधिकारीको अमेरिका भ्रमणका विभिन्न पाटालाई समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
सुरेन र सन्देशको सहकार्यमा ‘छेक्यो डाँडा कुहिरोले’
गायकद्वय सुरेन गौतम र सन्देश श्रेष्ठले संयुक्त रूपमा गीत ‘छेक्यो डाँडा कुहिरोले’ लाई नयाँ लोक रक शैलीमा प्रस्तुत गर्नुभएको छ । दुवैको सहकार्यले पुरानो सम्झना, मित्रता र नयाँ सङ्गीतिक प्रयोगलाई सरल र भावनात्मक रूपमा समेटिएको छ ।
‘हाय राजमती’ सार्वजनिक
दिवंगत पत्रकार, कवि, निबन्धकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको सांस्कृतिक निबन्धको सङ्ग्रह ‘हाय राजमती’ सार्वजनिक गरिएको छ । जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा २४ निबन्ध समेटिएको यो कृतिलाई निबन्धकारको निधन भएको ४५ औँ दिनमा इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको हो ।
भारतीय पर्यटकले पोखरा भरिभराउ
पोखराका अधिकांश होटेल अहिले भारतीय पाहुनाले भरिभराउ छन् । पश्चिम एसियाको युद्धका कारण अन्य मुलुकमा बाधक बनेको बेला भारतीय पर्यटक पोखरा घुम्न आउने क्रम बढ्दो छ । पोखरामा आन्तरिकपछि धेरै भारतीय पाहुना हुने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार भारतीय पर्यटकको हिस्सा अहिले करिब ४० प्रतिशत रहेको छ । “भारतीय पर्यटक पोखरा धेरै नै आउने गर्छन् । सडकबाट आउने भारतीय पर्यटकले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ,” उहाँले भन्नुभयो ।
दस अर्बको अलैँची निर्यात
नेपाली अलैँचीको निर्यात यस पटक बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा झापाको मेची भन्सार कार्यालय हुँदै सो अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपियाँ मूल्यको अलैँची निर्यात भएको छ ।
मूल्य नपाउँदा नर्सरी व्यवसायी सङ्कटमा
रौतहटको कटहरिया नगरपालिका–३ का नर्सरी व्यवसायमा संलग्न किसान यतिबेला आर्थिक सङ्कटको सामना गर्न बाध्य छन् । फलफूलका बिरुवा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उक्त क्षेत्रका किसान उत्पादित बिरुवाले बजार र उचित मूल्य नपाउँदा आर्थिक सङ्कट झेल्न बाध्य भएका हुन् ।
चैते धानमा किसानको आकर्षण
सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न थालेका छन् । पानी लाग्ने ठाउँमा गहुँ र हाइब्रिड मकै भिœयाएका किसानले धमाधम चैते धान रोपिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।
स्थानीय तहको बिजुलीलाई बजार सुनिश्चित
देशभरका स्थानीय सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र सौर्य विद्युत् आयोजना निर्माण गरेमा नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् खरिद गरिदिने भएको छ । स्थानीय तहले आफ्नो न्यूनतम ५१ प्रतिशत स्वामित्वमा निर्माण हुने सौर्य विद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्न आवेदन दिन आग्रह गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत वर्ष कात्तिक १९ गते बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यही वैशाख २ गते बसेको समितिको अर्को बैठकले यस्ता आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्ने निर्णय गरेपछि अहिले प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो ।
तोकियो पहिलो पटक गुन्द्रुकको गुणस्तर
सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत रहेर गुन्द्रुकको उत्पादन गरी उपभोग र बिक्रीवितरणका लागि मापदण्ड निर्धारण गरेको हो ।
आरोहण अनुमतिबाट उठ्यो एक अर्ब
यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।
प्रमुख नियुक्ति खुला प्रतिस्पर्धाबाट
सरकारले हवाईक्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ (१) अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
विस्तार हुँदै जीवन बिमा व्यवसाय
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा जीवन बिमा कम्पनीले एक खर्ब ४० अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीको कुल व्यवसाय ११.३१ प्रतिशतले बढेको छ भने नयाँ व्यापार ३० प्रतिशतभन्दा धेरै बढेको छ ।
अपाङ्गतासम्बन्धी कानुन संशोधन तयारी : प्रदेश र स्थानीय तहलाई जिम्मेवारी
सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रदेशलाई जिम्मेवार बनाउने गरी कानुनमा संशोधनको तयारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा सरकारले संशोधन गर्न लागेको हो । अशक्तताको वर्गीकरण अब ऐनमै उल्लेख हुने गरी संशोधन प्रस्ताव गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ऐनको संशोधन मसौदामा राय माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को संशोधन मसौदामा मन्त्रालयले वैशाख ६ गतेसम्म राय सङ्कलन गरेको हो ।
धूमपान नियन्त्रणमा स्वयंसेवक मोडेल
सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले नयाँ रणनीति अगाडि सारेको छ । काठमाडौँ, महानगरपालिकाले यसअघि पनि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ जरिबाना गर्ने गरेको थियो । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिच भएको सहकार्य अन्तर्गत धूमपान नियन्त्रण गर्ने योजना अघि बढाइएको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले धूमपान नियन्त्रणका लागि नेपाल प्रहरीसँग सहकार्य गरेर कानुन कार्यान्वयनलाई व्यावहारिक र प्रभावकारी बनाउने जानकारी दिनुभयो । डङ्गोलले धूमपान नियन्त्रणलाई केवल कारबाहीको विषयका रूपमा मात्र नभई जनस्वास्थ्यको मुद्दाका रूपमा लिनुपर्ने बताउनुभयो ।
पढाइ सुरु हुनै लाग्यो, तोकिएन शुल्क
स्कुले विद्यार्थीको पढाइ सुरु हुन लागे पनि धेरै स्थानीय तहले निजी तथा संस्थागत विद्यालयले विद्यार्थीबाट लिन पाउने शुल्क तोकेका छैनन् । यसै शैक्षिक सत्रदेखि विद्यालय तहको पढाइमा सुशासन कायम गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायले स्थानीय तहमा र विद्यालयको नाममा फरक फरक निर्देशन जारी गरिरहेका छन् । तर पनि अभिभावक र विद्यार्थीको समस्या उस्तै छन् ।
सहरी गरिबका लागि निर्मित भवन जीर्ण
मुख्य गरी काठमाडौँको बागमतीलगायतका नदीकिनारमा बसोबास गरेका सुकुमवासी तथा मुलुकको सहरी गरिबको बसोबासका लागि भनी निर्माण गरिएको राजधानीको इचङ्गुनारायणस्थित सार्वजनिक भवन (अपार्टमेन्ट) सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्योल यथावत् छ । बागमतीलगायतका नदी तथा खोलाकिनारका सुकुमवासी बस्ती शनिबार खाली गराएसँगै यो भवन पुनः चर्चामा आएको छ ।
तस्बिर आफैँ बोल्थ्यो, अहिले बोल्दैन
पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष आज (वैशाख १३ गते) कै दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस नेपालमा मनाइँदै छ । विक्रम संवत् १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठिनीको तस्बिर गोरखापत्रमा पहिलो आममहिलाका रूपमा छापिएको थियो । कामधेनु चर्खामा धागो कातिरहेको उक्त तस्बिरै नेपाली पत्रकारिताको इतिहासमा पहिलो मानक तस्बिर मानिएको छ । त्यसअघि विसं १९५८ वैशाख २४ गते पहिलो पटक गोरखापत्र प्रकाशन भएको थियो । त्यसको करिब २६ वर्षपछि मात्र आमनागरिकको जीवन झल्कने अर्थपूर्ण तस्बिर छापिएको इतिहासका रूपमा वैशाख १३ गतेलाई स्मरण गरिएको छ ।
कैलालीमा एकै दिन २५३ पिन्ट रगत सङ्कलन
कैलालीमा एकै दिन २५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा कैलाली जिल्लाका टीकापुर लगायतका पाँच स्थानमा आयोजना गरिएको रक्तदानबाट २५३ पिन्ट रगत सङकलन भएको हो ।
‘सुधारका लागि आएको हुँ’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएका सिर्जना श्रेष्ठले राजनीतिकमा केही गरौँ भनी लागेको बताउनुभएको छ । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेर २२ वर्षदेखि समाजसेवा
मधेश प्रदेशमा सामाजिक विकासका सूचक कमजोर
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को प्रदेशस्तरीय नतिजा अनुसार मधेश प्रदेशमा सामाजिक विकासका सूचक अझै पनि कमजोर देखिएका छन् ।