विराटनगर समाचारदाता
विराटनगर, वैशाख १३ गते । पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विराटनगरमा विमोचन गरिएको छ । नेपाली लेखक सङ्घ, कोशी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा लेखक अधिकारीको अमेरिका भ्रमणका विभिन्न पाटालाई समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि प्राडा गोपाल भण्डारीले कृतिको विमोचन गर्दै अधिकारीको पुस्तकले अमेरिकालाई नेपाली आँखाबाट वस्तुगत रूपमा नियालेको बताउनुभयो । उहाँले भन्नुभयो, “लेखकले अमेरिकाको भौतिक विकास मात्र नभई त्यहाँको लोकतान्त्रिक चरित्र, मानवीय व्यवहार र सामाजिक प्रणालीलाई निकै गहिराइमा पुगेर विश्लेषण गरेका छन् । यो पुस्तक अमेरिका बुझ्न चाहने नेपालीका लागि एउटा महत्वपूर्ण दस्ताबेज हो ।”
पुस्तकको समीक्षा गर्दै कवि मनु मञ्जिलले अधिकारीको लेखनमा तथ्य र अनुभूतिको सुन्दर सन्तुलन रहेको उल्लेख गर्नुभयो । “स्ट्याच्यु अफ लिबर्टी फ्रान्सले उपहार दिएको रोचक तथ्यदेखि लिएर अमेरिकीहरूको समय व्यवस्थापनसम्मका ४१ संस्मरण यसमा छन्,” मञ्जिलले भन्नुभयो । लेखक कृष्ण अधिकारीले आधुनिक पाठकको समय अभावलाई ध्यानमा राखेर आफूले लामा व्याख्याभन्दा पनि छोटो र सूत्रात्मक शैलीमा ४१ वटा यात्रा स्मरणलाई समेटेको जानकारी दिनुभयो । अन्य वक्ताले अधिकारीको पत्रकारिताको अनुभवले नियात्रालाई थप विश्वसनीय बनाएको धारणा राख्नुभएको थियो ।