• १३ वैशाख २०८३, आइतबार

हट्दैछ दानसाँगुखोलाको समस्या

blog

निर्माणको अन्तिम चरणमा पुगेको दानसाँगुखोलाको बेलिब्रिज पुल । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, वैशाख १३ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रका बासिन्दाको दानसाँगुखोलामा ज्यान जोखिम राखेर वारपार गर्नुपर्ने समस्या बल्ल हट्ने भएको छ । मार्तडी–कोल्टी सडकको बिचमा पर्ने दानसाँगुखोलामा पुनल बन्ने भएपछि स्थानीय खुशी भएका छन् । विगत लामो समयदेखि पुल नहुँदा कुन्डावासीले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको थियो । 

बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगुखोलामा पुल निर्माणको काम तीव्र पारेपछि बुढीनन्दा हिमाली स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकालगायतका स्थानीयलाई समेत बर्खाको समय निकै सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “मार्तडी–कोल्टी सडकको सबैभन्दा बढी समस्या हुने भनेको दानसाँगुखोलामा पुल नहुनु हो । यहाँ लामो समयदेखि पुल बनेको थिएन । अहिले बाउलीमा पुलको तीव्र पारेपछि अब भने केही आशा पलाएको छ ।” पुस्तौँदेखि अहिलेसम्म दुःखकष्ट पाएका हामीले यो बर्खा भने सहज रूपमा खोला वारपार गर्न पाउने छौँ  । खोलाको पुल करिब ९५ प्रतिशत भएपछि पुल बन्ने आशा पलाएको विकले बताउनुभयो । 

जडाङ्गाखोलाको बेलिब्रिज दानसाँगुखोलामा राख्ने गरी डिडिए/जनकल्याण जेभीसँग दुई करोड २० लाखमा रुपियाँ सम्झौता भएको उहाँले बताउनुभयो । अबको केही दिनभित्र सो पुलको निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले बताउनुभयो । बुढीनन्दा नगरपालिकाका प्रमुख जनकबहादुर बोहराले भन्नुभयो, “अहिले त्यो खोलामा पुल निर्माण अन्तिम चरण पुगेको छ । पुल निर्माण भएपछि यहाँका स्थानीयको दानसाँगुखोलाको समस्या हट्ने भएको छ ।” विगत लामो समयदेखि सो क्षेत्रका बासिन्दाले नागरिकता बनाउन मार्तडी जाने तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत निकै समस्या हुने गथ्र्यो । सो पुल बनेपछि बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका बासिन्दालाई सदरमुकाम मार्तडी र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसम्म जान सहज हुने छ ।