मुसीकोट समाचारदाता
रुकुमपश्चिम, वैशाख १३ गते । रुकुमपश्चिमका निर्माण व्यवसायीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि नरोकिए विकासनिर्माणका काम ठप्प हुने चेतावनी दिएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेका उनीहरूले मूल्यवृद्धि रोक्न माग गरेका छन् । उनीहरूले इन्धनजन्य सामग्री डिजेल, पेट्रोल, मटितेलमा भइरहेको अप्रत्याशित र अत्यधिक मूल्यवृद्धिले निर्माण लागतलाई नियन्त्रणबाहिर लिएकाले विकासनिर्माणका कार्य ठप्प हुने स्थिति आएको जनाएका छन् । निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष परवीर डाँगीले देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अत्यन्तै विषम र जर्जर परिस्थितिबाट गुज्रिरहेको तथ्य जानकारी गराउँदै मूल्यवृद्धि रोक्न माग गरिएको बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीयस्तरका विकासनिर्माणका कामलाई गति दिन र हजारौँ श्रमिक एवं व्यवसायीको हित संरक्षणका निम्ति सरकारले तत्काल निर्माण उद्योगमा आपत्काल घोषणा गरी विशेष राहत प्याकेज ल्याउनसमेत उहाँले माग गर्नुभयो । ज्ञापनपत्रमा मूल्य समायोजन मार्गदर्शन–२, तत्काल जारी गर्न जोडदार माग गरिएको छ । यसका साथै स्थानीय नदीजन्य निर्माण समाग्री तथा क्रसर उद्योगमा प्रदेश कार्यालयबाट नियमनका नाममा जटिलता थप्ने काम भएकोले निर्माण सामग्री उत्खनन र सङ्कलनमा अवरोध गरिएको जनाइएको छ ।
यसैबिच निर्माण व्यवसायीले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आकासिएको भन्दै जिल्ला दररेर पुनरवलोनको मागसमेत गरेका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष फरक ज्ञापनपत्र बुझाउँदै व्यवसायीले मध्यपूर्वमा जारी युद्धका कारण विकासनिर्माणमा व्यापक रूपले प्रयोग हुने पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, बिटुमिनलगायतका निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि भएकाले त्यसको प्रत्यक्ष असर विकासनिर्माणमा देखिने उल्लेख गरेका छन् ।