सल्यान समाचारदाता
सल्यान, वैशाख १३ गते । सल्यानका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित हुँदा शैक्षिक सिकाइमा असर परेको छ । विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहँदा विद्यालयको संरचना नै पुनः व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका अनुसार शैक्षिक सत्र २०८२ मा यहाँ रहेका सामुदायिक विद्यालय ४३२ मध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् भने २६६ विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका छन् । स्थानीय तहगत विवरण अनुसार बागचौर नगरपालिकाका ६८ विद्यालयमध्ये ३० वटामा ५० भन्दा कम र ३९ वटा विद्यालयमा सयभन्दा कम विद्यार्थी छन् । वनगाढ कुपिन्डे नगरपालिकाका ६५ विद्यालयमध्ये २४ वटामा ५० भन्दा कम र ३९ वटामा सयभन्दा कम विद्यार्थी छन् । शारदा नगरपालिकाका ५६ विद्यालयमध्ये २७ मा ५० भन्दा कम र ४० वटामा सयभन्दा कम विद्यार्थी रहेका छन् । जिल्लामा कक्षा १ देखि १२ सम्म २८ हजार ६०६ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये कक्षा १–५ मा नौ हजार ५५८, कक्षा ६–८ मा नौ हजार ५२० र कक्षा ९–१२ मा नौ हजार ५२८ विद्यार्थी छन् । शिक्षक दरबन्दीको अवस्था अनुसार प्राथमिक तहमा ५८० दरबन्दी र ३५६ राहत, निम्नमाध्यमिक तहमा १०३ दरबन्दी र एक सय राहत, माध्यमिक तहमा ९९ दरबन्दी र ६३ राहत तथा उच्च माध्यमिक तहमा १६ दरबन्दी र ३४ राहत शिक्षक कार्यरत छन् । सामान्य मापदण्ड अनुसार शिक्षक–विद्यार्थी अनुपात सन्तुलित देखिए पनि व्यवहारमा वितरण असन्तुलित रहेको पाइएको छ । जिल्ला शिक्षा समन्वय एकाइ सल्यानका प्रमुख शेरबहादुर रोकायले तल्लो कक्षामा शिक्षक बढी र माथिल्लो कक्षामा विषयगत शिक्षकको अभाव रहेको बताउनुभयो । उहाँका अनुसार शिक्षक व्यवस्थापनमा देखिएको असन्तुलनले गुणस्तरीय शिक्षामा चुनौती थपिएको सरोकारवाला बताउँछन् । कतिपय विद्यालयमा आवश्यक विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावकारी हुन सकेको छैन ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थी सङ्ख्या न्यून देखिएको छ । कतिपय स्थानमा विद्यालय धेरै भए पनि विद्यार्थी सङ्ख्या कम हुँदा स्रोतसाधनको प्रभावकारी उपयोग र शैक्षिक गुणस्तरमा चुनौती देखिएको छ । दार्मा गाउँपालिका–३ का अभिभावक टीका शर्मा वलीले विद्यार्थी सङ्ख्या घट्दै जानुमा बसाइँसराइ, जन्मदरमा कमी, निजी विद्यालयतर्फ आकर्षण रहेको बताउनुभयो ।
शिक्षाविद् वीरबहादुर सेजुवालले विद्यालय समायोजन, शिक्षक दरबन्दी पुनर्संरचना तथा दीर्घकालीन शैक्षिक योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । घुम्ती विद्यालयको प्रयोग, स्रोतसाधनको समुचित व्यवस्थापन र शिक्षकको प्रभावकारी परिचालनमार्फत मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने उहाँको भनाइ छ ।