टोपलाल अर्याल
रेसुंगा (गुल्मी), वैशाख १३ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सबै वडामा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (भिआइए) ३०० जनामा गरिएको छ । त्यसैगरी नौ जनालाई दीर्घकालीन गर्भनिरोध (परिवार नियोजन) सेवा, तीन जनालाई रिङ पेसरी सेवा, ५७९ जनामा भिडियो एक्सरे तथा ६७६ जनाले विभिन्न महिला रोगसम्बन्धी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।
गाउँघरमै यस्तो सेवा उपलब्ध हुँदा धेरै महिलाहरू उत्साहित भएको उहाँले बताउनुभयो । शिविरमा डा. विवेक पन्थ र डा. नारायणप्रसाद न्यौपानेले बिरामी जाँच तथा भिडियो एक्सरे सेवा प्रदान गर्नुभएको थियो । त्यस्तै, अनमी ओमकला सोमरे र समीक्षा पन्थले भिआइए सेवा, सिनियर अनमी भगवती ज्ञवाली र अनमी रेनु राजालीले दीर्घकालीन गर्भनिरोध सेवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सिनियर अहेब सपना टण्डन, स्टाफ नर्स मुना राना सर्तुङ्गे, जनस्वास्थ्य अधिकृत समीक्षा पाण्डे तथा मनोसामाजिक परामर्शकर्ता सम्झना कुँवरले सहजीकरण गर्नुभएको थियो ।
यो शिविर वैशाख ४ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको थियो । शिविरको अनुगमनका क्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा आवश्यकता तथा मागअनुसार थप शिविर सञ्चालन गरिने बताउनुभयो । पाठेघरसम्बन्धी जटिल समस्या देखिएका तीन जनालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।