इलाम समाचारदाता
इलाम, वैशाख १३ गते । नेपाली अलैँचीको निर्यात यस पटक बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा झापाको मेची भन्सार कार्यालय हुँदै सो अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपियाँ मूल्यको अलैँची निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत साउनदेखि चैतसम्म ५२ लाख ९५ हजार २५० किलो अलैँची निर्यात भएको छ । आव २०८१/८२ को पहिलो नौ महिनामा भन्दा यस पटक ४१.५८ प्रतिशत बढीले अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
सिजनको सुरुदेखि नै प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भएको अलैँचीको मूल्य यो वर्षभरि नै उच्च र स्थिर रहेको व्यापारी बताउँछन् । सिजन सकिनै लाग्दा पनि अलैँचीको मूल्य प्रतिमन ९६ देखि एक लाख रुपियाँको हाराहारीमा रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले जानकारी दिनुभयो ।
पछिल्लो समयमा पश्चिम एसियाको द्वन्द्वले गर्दा खाडी मुलुक जान भने कम भएको अध्यक्ष पौड्याल बताउनुहुन्छ । अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले अलैँची खेती पनि विस्तार गरिरहेका छन् । देशका ५४ जिल्लामा अलैँची खेती हुँदै आएको छ । देशको १४ हजार ३८३.५ हेक्टर जमिनमा अलैँची खेती विस्तार रहेको अलैँची विकास केन्द्रले जनाएको छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशी पहाडमा जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्रको तथ्याङ्क छ ।