• १३ वैशाख २०८३, आइतबार

‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’

blog

सन्तोष राउत 

सोलुखुम्बु, वैशाख १३ गते । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुले यस पटकको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै सबैभन्दा कान्छी सांसदका रूपमा गीता गुरुङलाई पठाएको छ । नेपाली कांग्रेसले गुरुङलाई समानुपातिक सूचीमा राखेपछि उहाँ निर्वाचित हुनुभएको हो ।  

गाउँकै जनकल्याण मावि जुबुमा कक्षा ८ मा पढ्दा १३ वर्षकै उमेरमा कांग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको एकाइ सभापतिबाट नेपाली राजनीतिमा पाइला सारेकी ३० वर्षीय गुरुङले २०६६ मा एसएलसी उत्तीर्ण गरी काठमाडौँको त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा स्नातक गर्नुभएको हो । त्यस कलेजमा अध्ययनका क्रममा क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०७९ सालको निर्वाचनमा गुरुङलाई पार्टीले कोशी प्रदेश सभाको समानुपातिक उम्मेदवार बनाएको थियो । त्यतिबेला उहाँले प्रदेश सभा सदस्य हात पार्न सक्नुभएन । 

२०८२ सालको चुनावमा देशैभर कांग्रेसले हार बेहोर्दा सोलुखुम्बुमा प्रत्यक्षसहित तीन जना सांसद हात पारेको छ । गुरुङलाई आदिवासी जनजाति क्लस्टरबाट उहाँले समानुपातिक सांसदमा अवसर पाउनुभएको हो । नेपाली कांग्रेसका स्थानीय नेता इन्द्रबहादुर गुरुङकी छोरीका रूपमा थुलुङ दुधकोशी गाउँपालिका–४, जुबुमा जन्मएकी उहाँले आफू बुवाकै प्रेरणाले राजनीतिमा आकर्षित भएको बताउनुहुन्छ । बुवाले सबैलाई सहयोग गरेको देखेर सेवा गर्न त बुवा जस्तै नेता पो हुनुपर्ने रहेछ भन्ने छाप उहाँको बाल मस्तिष्कमा परेको थियो । उहाँले भन्नुभयो, “बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ, बुवाले मलाई पितृसत्तासँग जुध्ने साहस मात्र दिनुभएन, मेरा हरेक निर्णयमा साथ तथा हौसला दिनुभयो, जसका कारण म राजनीतिमा लाग्न सकेँ ।” 

नेविसङ्घको पहिलो महिला अध्यक्ष बन्ने आकाङ्क्षा बोकेर देशभर सङ्गठन विस्तारमा लागेका गुरुङले समयमा अधिवेशन नहुँदा त्यो अवसर प्राप्त गर्न नसके पनि समयले उहाँलाई सांसद बन्ने अवसर दियो । नेविसङ्घको अध्यक्ष हुन नपाएकोमा पीडा भएको भन्दै उहाँले यति ठुलो सङ्गठनमा अहिलेसम्म छात्राले नेतृत्व लिन नसकेको गुनासो गर्नुभयो । आफू नेतृत्व लिन तयार भए पनि पार्टीका भ्रातृ सङ्गठनको अधिवेशन समयमा हुन नसक्दा अवसर गुमेको उहाँले बताउनुभयो । 

संसदीय राजनीतिमा नयाँ भए पनि युवा, महिला र हिमाली क्षेत्रको आवाजलाई सदनसम्म पु-याउन आत्मविश्वासका साथ सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँ बताउनुहुन्छ । युवालाई देशमै बस्ने वातावरण बनाउने बताउँदै उहाँले ग्रामीण उत्पादनमा कसरी वृद्धि गर्ने भन्ने विषयसँगै जलवायु परिवर्तनका कारण ठुलो असर झेलिरहेको र यसलाई संसद्मा प्रभावकारी रूपमा उठाउने बताउनुभयो । गाउँ रित्तो भइसकेकाले गाउँमा युवालाई रोक्न तथा बिदेसिएकालाई स्वदेश फर्काउन नीतिगत सुधारको खाँचो रहेको औँल्याउँदै उहाँले यी सबैको सन्तुलन मिलाउने विषयमा कसरी काम गर्न सकिन्छ भन्नेलगायतका पक्षमा संसद्मा आवाज उठाउने बताउनुभयो । 

अहिले मध्यपूर्वमा १९–२० लाख हाराहारी नेपाली छन् । युद्ध बढेमा उनीहरूलाई कसरी फर्काउने भन्ने कुरा पनि अहिलेको टड्कारो विषय बनेको उहाँले बताउनुभयो । राजनीतिमा पढेलेखेका मान्छेको आवश्यकता धेरै हुन्छ भन्ने कुरा बुझेर राजनीतिमा झनै सशक्त रूपमा लागेका उहाँले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो ।