यादवराज पुरी
रौतहट, वैशाख १३ गते । रौतहटको कटहरिया नगरपालिका–३ का नर्सरी व्यवसायमा संलग्न किसान यतिबेला आर्थिक सङ्कटको सामना गर्न बाध्य छन् । फलफूलका बिरुवा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उक्त क्षेत्रका किसान उत्पादित बिरुवाले बजार र उचित मूल्य नपाउँदा आर्थिक सङ्कट झेल्न बाध्य भएका हुन् ।
उक्त क्षेत्रमा करिब ९० प्रतिशत किसान नर्सरी व्यवसायमा आश्रित छन् । बर्सौंदेखि आँप, लिची, अम्बा, कागती, कटहरलगायतका फलफूलका बिरुवा उत्पादन गर्दै आएका किसान अहिले बजार अभाव र मूल्य गिरावटका कारण निराश बन्दै गएका छन् । स्थानीय किसान रामबाबु यादव भन्नुहुन्छ, “पहिले फलफूलका एउटा बिरुवा १५० देखि दुई सय रुपियाँसम्ममा बिक्री हुन्थ्यो । हाल ५० देखि ६० रुपियाँमा पनि ग्राहक पाइँदैन । लगानी उठ्ने त कुरै भएन, खर्च धान्न पनि मुस्किल भयो ।”
किसानका अनुसार मुख्य समस्या बजार व्यवस्थापनको अभाव हो । उत्पादित बिरुवा सिधै उपभोक्तासम्म पु¥याउने प्रभावकारी संयन्त्र नहुँदा बिचौलियाको भर पर्नु परेको छ । बिचौलियाले सस्तोमा किनेर महँगोमा बेच्ने गर्दा नर्सरी किसान आर्थिक मारमा परेका छन् । नर्सरी व्यवसाय सङ्कटमा पर्दा त्यसमा आश्रित मजदुरको अवस्था झनै दयनीय बनेको छ । बिरुवा उत्पादन, रोपाइँ, गोडमेल र बिक्रीसम्मका काममा दैनिक ज्यालादारी गर्ने मजदुर कामविहीन हुन थालेका छन् । रोजगारीका लागि अन्य क्षेत्रमा स्थानान्तरण हुँदै छन् । स्थानीय मजदुर हेमलता साह भन्नुहुन्छ, “पहिले नर्सरीमा दिनहुँ काम पाइन्थ्यो, अहिले हप्तामा एक/दुई दिन मात्रै बोलाउँछन् । घरखर्च चलाउनै गाह्रो भएको छ ।”
बिरुवाको मूल्य पनि कम हुनु र बिक्री एक्कासि घट्नुले आर्थिक सङ्कट परेको नर्सरी व्यवसायी बताउँछन् । लामो समयदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी जयनाथ साह भन्नुहुन्छ, “नर्सरीमा हुर्काइएका फलफूलका बिरुवाले उचित मूल्य नपाउँदा नर्सरीमा काम गर्ने मजदुरको समयमा ज्याला दिन सकेका छैनौँ । नर्सरी व्यवसाय घाटामा छ ।”
नर्सरी पेसाबाट आम्दानी घटेपछि धेरै किसान वैकल्पिक पेसा गर्ने सोचमा छन् तर सिप र लगानीको अभावले अन्य क्षेत्रमा जान सक्ने अवस्था नभएको विजय नर्सरीका सञ्चालक विजय रौनियार बताउनुहुन्छ । सरकारले न्यूनतम समर्थन मूल्य, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने किसानको माग छ ।