सर्लाही समाचारदाता
सर्लाही, वैशाख १३ गते । सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न थालेका छन् । पानी लाग्ने ठाउँमा गहुँ र हाइब्रिड मकै भिœयाएका किसानले धमाधम चैते धान रोपिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।
चन्द्रनगर गाउँपालिका–३ की रीता यादवले सिँचाइको सुविधा भएसँगै गाउँमा चैते धान र हाइब्रिड मकैको खेती विस्तार भएको बताउनुभयो । विद्युत् पुगेको ठाउँमा मोटर चलाएर सुलभ रूपमा सिँचाइ भइरहे पनि महँगो डिजेल खर्च गरेर पम्पसेट चलाउनुपर्दा भने किसानलाई ठुलो मार परिरहेको यादवले गुनासो गर्नुभयो ।
सर्लाहीमा पछिल्लो समय पालिका र नेपाल विद्युत् प्राधिकरणले समन्वय गरी कृषि विद्युतीकरण विस्तार गरेकाले किसानलाई सिँचाइका लागि सहज भएको छ । सिँचाइ सहज भएसँगै अहिले जिल्लाका २० वटै पालिकामा चैते धान खेती हुन थालेको कृषि ज्ञान केन्द्र सर्लाहीका वरिष्ठ कृषि प्रसार अधिकृत एवं कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी लालबन्दी, हरिपुर, ईश्वरपुर, चन्द्रनगर र कविलासी क्षेत्रमा चैते धानको खेती हुन्छ । बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने बरहथवा, बागमती, बसबरियालगायत क्षेत्रमा पनि चैते धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले बताउनुभयो ।