• १३ वैशाख २०८३, आइतबार

प्रमुख नियुक्ति खुला प्रतिस्पर्धाबाट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । सरकारले हवाईक्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ (१) अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो । 

यसअघि प्राधिकरणको नेतृत्व राजनीतिक निर्णय र सहमतिका आधारमा चयन हुँदै आएकोमा यस पटक योग्यता र क्षमतालाई प्राथमिकता दिँदै खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रतिस्पर्धाका सबै चरण पारदर्शी र पक्षपातरहित हुने जनाउँदै मन्त्रालयले सरकारी सेवा अथवा प्राधिकरणको सेवामा बहाल रहेका योग्य उम्मेदवारको शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा नियुक्त गर्ने प्रक्रिया सुरु भएको जनाएको छ । हाल प्राधिकरण पाँच महिनादेखि महानिर्देशकविहीन छ ।

मन्त्रालयले नेपाल वायुसेवा निगमका रिक्त चार सञ्चालक सदस्य पदपूर्तिसमेत खुला प्रतिस्पर्धामार्फत हुने जनाएको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ अनुसार हाल रिक्त तीन पद र आगामी छ महिनाभित्र रिक्त हुने एक पदसहित कुल चार जना खुला प्रतिस्पर्धाबाट नियुक्त गरिन लागेको हो ।