• १३ वैशाख २०८३, आइतबार

सहरमा गुजुल्टिएका तार हटाइँदै

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख १३ गते । बुटवल बजार सौन्दर्यीकरण अभियान अन्तर्गत बजार क्षेत्रमा रहेका विद्युत् तथा टेलिकमका पोलमा गुजुल्टिएका तार व्यवस्थापन गर्न थालिएको छ । बुटवल उपमहानगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै बुटवल बजार सुन्दरीकरण अभियान अन्तर्गत सडक किनारका पोलमा रहेका तार र सडकपेटी तथा फुटपाथ क्षेत्रमा जथाभाबी पार्किङ, तरकारी र फलफूल पसल तथा ठेला व्यवस्थापन थालेको हो । 

अमरपथ, हाटबजार लाइन, अस्पताल लाइन, ट्राफिक चोक र मिलनचोकसम्मै सडक किनारमा रहेका पोलका बर्सौंदेखि गुजुल्टिएका तार तथा सडक छेउमा विभिन्न सामान राखेर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएपछि बुटवल बजार सुन्दरीकरण अभियान थालिएको हो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तार व्यवस्थापनको काम अमरपथ, हाटबजारलगायतका क्षेत्रमा थालिएको बताउँदै फुटपाथ तथा सडक पेटी नै ढाकेर पसल राख्नेहरूलाई हटाइएको बताउनुभयो । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको स्वच्छ बुटवल अभियानमा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरू र सम्बन्धित संस्थाले सहयोग गरेका छन् । तार व्यवस्थापनको काम अमरपथलगायतका क्षेत्रमा सुरु भएको छ भने फुटपाथ खाली गराउने अभियान अस्पताल लाइनबाट सुरु भएको हो । 

केबुल कम्पनीले समेत अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट तथा दूरसञ्चारका तार हटाउन बुटवल उपमहानगरलाई सहयोग गरेका छन् । नगरप्रमुख पाण्डेले बुटवल क्षेत्रमा जथाभाबी टाँगिएका तारले सहरको सौन्दर्यमा असर पुगेको भन्दै नगरका सबै क्षेत्रमा यस्ता अव्यवस्थित तार हटाउन नगरवासीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बुटवललाई स्वच्छ, सफा, हरियाली, उज्यालो र सुरक्षित सहरका रूपमा विकास गर्ने योजना अनुसार काम अगाडि बढाइएको बताउनुभयो । बुटवल बजारलाई सौन्दर्यीकरण गर्ने उद्देश्यले बुटवल उपमहानगरले गत वैशाख २ देखि फुटपाथ खाली गराउने अभियान सञ्चालन गरेको हो ।

बुटवलको मुख्य बजार क्षेत्र, राजमार्ग आसपासका सडक तथा भिडभाड हुने स्थानमा ठेला, फुटपाथ व्यापार र अनधिकृत रूपमा राखिएका सवारीसाधन हटाइएको छ । 

नगरप्रमुख पाण्डेले बुटवललाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न योजना अघि बढाइएको बताउनुभयो । उहाँले सडक बत्ती जडान, सडक विस्तार, सरसफाइ अभियानलगायतका थुप्रै काम सम्पन्न भइसकेको उल्लेख गर्दै अब बजार व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले बुटवललाई व्यवस्थित बनाउने काममा आफूहरूको सहयोग र साथ रहने प्रतिबद्धता जनाउनुभयो ।