• १४ वैशाख २०८३, सोमबार

तीन गाडीको भार एउटै ट्रकमा

blog

भारतीय गाडी चेकजाँच गरिँदै ।

कपिलवस्तु समाचारदाता

कपिलवस्तु, वैशाख १४ गते । मर्यादपुर नाका हुँदै नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको एक मालवाहक ट्रकमा अनुमतिभन्दा करिब तीन गुणा बढी माल ढुवानी गरिएको फेला परेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा उक्त ट्रकले तीन वटा सवारीसाधनमा बोक्नुपर्ने माल एउटै ट्रकमा ओभरलोड गरेको पाइएको हो ।

युपी ७० एफटी २६२६ नम्बरको ट्रकले नियम अनुसार २७.५ टनसम्म मात्र माल ढुवानी गर्न पाउने भए पनि भन्सारको कागजात अनुसार सोही ट्रकमा ६९.९ टन सामग्री फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

शनिबार गरिएको विशेष चेकजाँच अभियानका क्रममा २५ वटा भारतीय मालवाहक सवारीसाधनमध्ये सबैले तोकिएको भन्दा बढी भार बोकेको पाइएको थियो । तीमध्ये सात वटा ट्रकले क्षमताभन्दा दोब्बरभन्दा बढी माल ढुवानी गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार सबै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । पहिलो पटकका लागि प्रतिट्रक १० हजार रुपियाँ जरिबाना गरिएको र दोहोरिएमा माल नै अनलोड (खसाल्ने) गरिने उहाँले बताउनुभयो ।

सडक तथा पुलको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण संरचनामा गम्भीर क्षति पुग्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । लगातार ओभरलोड ट्रक चल्दा सडक छिट्टै भत्किने, कालोपत्रे उखेलिने र खाल्टाखुल्टी बढ्ने समस्या देखिएको छ ।

ट्राफिक प्रहरी पोस्ट कृष्णनगरका प्रहरी नायब निरीक्षक नीरज गौतमका अनुसार ओभरलोड सवारीसाधनले दुर्घटनाको जोखिम पनि बढाउँछ । “अत्यधिक भारका कारण ब्रेक प्रणालीमा दबाब पर्छ, मोडमा सन्तुलन बिग्रिन्छ र आपत्कालीन अवस्थामा सवारी नियन्त्रण गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो ।

सीमावर्ती नाकाबाट दैनिक रूपमा चल्ने मालवाहक सवारीसाधनमा लामो समयदेखि ओभरलोडको समस्या देखिँदै आएको छ । स्थानीयले यस्तो गतिविधि रोक्न नियमित कडा अनुगमन आवश्यक रहेको बताएका छन् । ट्राफिक प्रहरीले आगामी दिनमा सीमाक्षेत्र केन्द्रित थप कडाइ गर्ने जनाएको छ ।