गजेन्द्र गुरुङ
खजुरा, वैशाख १३ गते । सिक्टा सिँचाइ अन्तर्गत पश्चिमी मूल नहरको अधिकांश क्षेत्रमा वन क्षेत्र रहेको छ । जहाँ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्र पर्दछन् ।
पछिल्ला केही समययता उक्त नहर वन्यजन्तुका लागि पासोजस्तै बनेको छ । हरेक दिनजस्तो पानी पिउनका लागि नहरमा पुग्ने विभिन्न वन्यजन्तुहरू उक्त नहरमा पर्ने गरेका उदाहरण पाइन्छन् ।
नहरमा पानी पिउन गएका अधिकांश वन्यजन्तुहरू पानीमा डुब्ने, मर्ने गरेका छन् । कैयौँपटक निकुञ्ज, वन कर्मचारी, स्थनीय उपभोक्ताहरूले उद्धार गरेका छन् भने कैयौँपटक वन्यजन्तुहरू मर्ने पनि गरेका छन् । केही स्थनीयले लुकीछिपी नहरमा फसेका त्यसता वन्यजन्तुलाई मारेर खाने गरेका घटना पनि पाइन्छन् ।
उक्त क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका-२, खोरियास्थित नहरमा शुक्रबार एउटा मृग पानीमा फस्यो, केही स्थानीयले त्यसलाई पानीबाट उद्धार गरे । तर उनीहरूले जङ्गलमा लगेर मृगलाई मारेर मासु भागबण्डा गरे । मासु लगेर घरतिर जाँदै गर्दा तीन जना स्थानीयहरू पक्राउ परे ।
“नहरमा शुक्रबार एउटा मृग पानीमा फँसेको रहेछ, केही स्थानीयले पानीबाट उद्धार गरेर बाहिर निकाले, जङ्गलमा लगेर उनीहरूले त्यसलाई काटेर मासु भागबण्डा गरेछन् ।” डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले भन्नुभयो, “मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज कर्मचारी, डिभिजन वनका कर्मचारी, स्थानीयहरूले पक्राउ गरी वन कार्यालयमा मासुसहित बुझाउनुभएको छ ।”
गुरुङका अनुसार उनीहरू राप्तीसोनारी-२ कै स्थानीय बासिन्दा हुन् । उनीहरुको साथबाट ६ किलो ७०० ग्राम मृगको मासु, मोबाइल तथा एउटा मोटरसाइकल समेत बरामद गरिएको छ । हाल उनीहरूलाई डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखेर अनुसन्धान हुँदैछ । पक्राउ पर्नेमध्ये एक जना नाबालक समेत रहेका बताइएको छ ।
शनिबार एकैदिनमा मात्र सोही क्षेत्रको हरलाफाँटा सामुदायिक वन अन्तर्गत पर्ने उक्त नहरमा पानी पिउन गएका चार वटा चित्तल डुबे । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको सहायतमा उनीहरूलाई उद्धार गरियो ।
“शनिबार मात्रै एकैदिनमा उक्त नहरमा चार वटा चित्तल फसे, दिउँसो तीन वटा र राति एउटा । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ ।” सूचना अधिकारी गुरुङले भन्नुभयो ।
उहाँका अनुसार हरलाफाँटा वन उपभोक्ता समितिका सचिव प्रेम बुढामगर, स्थानीय नागरिक तथा निकुञ्ज र वन कर्मचारीहरूले फँसेका चित्तललाई नहरबाट उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडेका थिए ।
“सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र रहेको छ, यहाँ विभिन्न किसिमका वन्यजन्तुहरू रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ । यो नहर वन्यजन्तुका लागि पासोजस्तै भएको छ ।” डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदी भन्नुहुन्छ, “नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फँसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँपटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।”
सुवेदीका अनुसार वन्यजन्तुहरू पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त वनडढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । “अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा वनडढेलो भइरहेको छ, जसका कारण पनि वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको छ ।” वरिष्ठ वन अधिकृत सुवेदी भन्नुहुन्छ ।
उहाँका अनुसार वन्यजन्तुलाई पानी पिउनका लागि वन जङ्गल क्षेत्रमा पोखरी त बनाइएको छ । तर ती पोखरी पर्याप्त मात्रामा छैनन्, भने पानी पनि छैन् । “वन्यजन्तुलाई पानी पिउनका लागि विभिन्न सामुदायिक वन तथा चक्ला वनमा पोखरी त बनाइएको छ, तर ती सुक्खा छन्, आकासे भरका । बजेट अभावका कारण ती पोखरीमा सोलर सिस्टम जोड्न सकिएको छैन्, यदी ती पोखरीमा पानी उपलब्ध हुन सके नहरसम्म जाने र दुर्घटना हुन सक्ने जोखिम कम हुन्थ्यो ।”
उहाँका अनुसार त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती अपर्याप्त छन् । एउटा चक्ला वनमा सात वटा पोखरी बनेका छन् तर ती सुक्खा छन् । सोलारसहितको एउटा पोखरी निर्माणाधीन छ, त्यहाँ पानी उपलब्ध हुने छ ।
सिक्टा सिँचाइ नहरले वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानहरूमा घाट त बनाएको छ तर ती घाटहरू सुरक्षित र भरपर्दा नभएको स्थानीय बताउँछन् ।
“सिँचाइ आयोजनाले नहर निर्माण गर्दा केही ठाउँहरूमा सिमेन्टेड पानी पिउने घाट बनाइदिएको छ, तर ती सुरक्षित र भरपर्दा छैनन्, वन्यजन्तुले पानी पिउन नमिल्ने र कम गुणस्तर भएका छन् ।” एक स्थानीलयले भन्नुभयो, “बनाइएका घाट पनि अत्यन्तै न्यून सङ्ख्यामा छन्, साँच्चिकै वन्यजन्तुलाई नहरबाट बचाउँने हो भने गुणस्तरीय घाट निर्माण गर्नुपर्छ, ती घाटलाई छाडेर बाँकी नहरको दुवैतर्फ तारजाली निर्माण गर्न आवश्यक छ, तब मात्र यो समस्या दीर्घकालीन रूपमा समाधान हुने देखिन्छ ।” उक्त नहरमा प्रायः गरेर मृग, चित्तल, नीलगाई तथा बँदेल लगायतका वन्यजन्तुहरू फस्ने गरेका पाइएका स्थानीय बताउँछन् ।