हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख १३ गते । मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।
तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार आइतबार बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते हुनुभएको हो ।
आफ्नै भान्सा घर अगाडि उभिरहनुभएको बेला उहाँलाई चट्याङ लागेको थियो । उहाँको दाहिने खुट्टामा चोट लागेको छ । उहाँलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि पुर्याइएको छ ।अस्पतालका अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।
त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२, पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ्नै घरमा बसिरहनुभएको बेला चट्याङ लाग्दा गम्भीर घाइते हुनुभएको हो ।
उहाँलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा लगिएको छ । प्रहरीका अनुसार उहाँको अवस्था गम्भीर रहेको छ ।