• १४ वैशाख २०८३, सोमबार

नयाँ पालुवामै खराने रोग देखिएपछि सुन्तला किसान चिन्तित

blog

छत्रेश्वरी–१, खोरबारेमा सुन्तलामा देखिएको खराने रोग । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, वैशाख १४ गते ।
वैशाख लागेसँगै सुन्तलाका बोटमा सेतो धुलोजस्तो देखिने खराने रोग देखा पर्न थालेपछि सल्यानका किसानहरू चिन्तित बनेका छन् । सामान्यतया असारतिर देखिने यो रोग यस वर्ष भने समयभन्दा अगावै फैलिन थालेको किसानहरूको भनाइ छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ अन्तर्गत खोरबारे र डिग्रे क्षेत्रका सुन्तला बगैंचामा नयाँ पात र कलिला मुनामा देखिएको खराने रोग (पाउडरी मिल्ड्यु) का कारण उत्पादनमा असर पर्ने चिन्ता बढेको हो । रोगसँगै बोटको फेद कुहिने समस्या पनि देखिन थालेपछि किसानको मुख्य आम्दानी स्रोत संकटमा परेको छ ।

खोरबारेका किसान ज्ञानबहादुर वलीले करिब एक सय फल दिने र थप तीन सय सुन्तलाका बोट रहेको जानकारी दिँदै पातमा धुलो छरेझैँ देखिएको र कलिला मुनामा समेत रोग देखिएको बताउनुभयो । उहाँले बोटको जरातिर कुहिने समस्या समेत देखिन थालेको जानकारी दिनुभयो ।

स्थानीयका अनुसार खोरबारे क्षेत्रमा मात्रै करिब ४० घरधुरी किसानका सुन्तलामा खराने रोग देखिएको छ । सामान्यतया असारतिर देखिने यो रोग यसपटक वैशाखको पहिलो सातामै देखिनु असामान्य भएको उनीहरूको भनाइ छ ।

किसानहरूका अनुसार सुरुमा पात र नयाँ पालुवामा सेतो धुलोजस्तो देखिने यो रोग विस्तारै कलिला फलमा समेत फैलिन्छ । समयमै नियन्त्रण गर्न नसकेमा फल झर्ने, पात खस्ने, बोटको टुप्पो सुक्ने र अन्ततः हाँगा मर्ने अवस्था आउन सक्छ, जसले उत्पादनमा ठुलो गिरावट ल्याउँछ ।

गत वर्ष वडा कार्यालयमार्फत ५० प्रतिशत अनुदानमा रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको भए पनि यस वर्ष त्यस्तो सुविधा नपाएको किसानहरूको गुनासो छ । समयमै औषधी नपाउँदा रोग नियन्त्रणमा समस्या भएको उनीहरूले बताएका छन् ।

कृषि विज्ञहरूले भने रोग नियन्त्रणका लागि प्रारम्भिक चरणमै सचेत हुन सुझाव दिएका छन् । नयाँ पालुवा आउँदा, बढी ओसिलो वातावरण र वर्षाको समयमा यस्तो रोगको जोखिम बढ्ने भएकाले सुरुमै संक्रमित हाँगा काटेर हटाउनुपर्ने उनीहरूको भनाइ छ । रोगको संक्रमण बढेमा कृषि प्राविधिकको सल्लाहमा सल्फर धुलो वा घरेलु उपायका रूपमा गाईको गहुँत प्रयोग गर्न सुझाव दिइएको छ ।

समयमै प्रभावकारी नियन्त्रण उपाय अपनाउन नसकिए सुन्तला खेतीमा ठुलो क्षति पुग्ने जोखिम रहेको भन्दै किसानहरूले सम्बन्धित निकायसँग आवश्यक सहयोग र औषधी उपलब्ध गराउन माग गरेका छन् ।