• १४ वैशाख २०८३, सोमबार

अति कुपोषित बालबालिकालाई जिल्लाबाहिर रेफर

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १४ गते । ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्लाबाहिरका स्वास्थ्य संस्थामा पठाएको छ । जिल्लामा पोषणसम्बन्धी सेवा नभएको र ती कुपोषित बालबालिकाको घरमा उपचार गर्न कठिन हुने भएपछि शाखाले अति कुपोषित १० बालबालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा समन्वय गर्दै त्यहाँको पोषण पुनस्र्थापना केन्द्रमा उपचारका लागि सिफारिस गरिएको ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीका संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिकाभरिका बालबालिकाको पोषण लेखाजोखा गरी महिला स्वास्थ्य स्वयंसेविकाले अति कुषोषण (रातो कार्ड) सङ्केत दिनुभएको छ । त्यसलाई पछि मैला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि सोही सङ्केत देखिएकाले जिल्लाबाहिरका अस्पतालमा उपचारका लागि सिफारिस गरिएको जानकारी उहाँले दिनुभयो । 

जिल्ला अस्पतालमा समेत यो सुविधा नभएको र ती बालबालिकाको घरमै राखेर उपचार गर्दा जोखिम देखिएपछि जिल्लाबाहिरका अस्पतालमा उपचारका लागि पठाउन सिफारिस गरिएको हो । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसमा सकारात्मक प्रतिक्रिया दिएको र प्रदेश अस्पतालसँग समन्वय भइरहेको भनाइ छ । जिल्लाबाहिर पठाइने ती बालबालिकालाई अस्पतालसम्म पु¥याउने व्यवस्था ताँजाकोट गाउँपालिकाले गर्ने र त्यसपछि उपचार र पालनपोषणको जिम्मा अस्पतालमा सञ्चालन गरिएको पोषण पुनस्र्थापना केन्द्रले जिम्मा लिने छन् ।