• १६ वैशाख २०८३, बुधबार

भेरी शीतभण्डारको अध्यक्षमा भट्टराई निर्वाचित

blog

भेरी शीतभण्डारको अध्यक्षमा निर्वाचित बलराम भट्टराई । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख १४ गते ।
बाँकेको कोहलपुर–११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई निर्वाचित हुनुभएको छ । सञ्चालक समिति तथा लेखा समिति चयनका लागि शनिबार मतदान सम्पन्न भएको थियो । आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनको मतगणना शनिबार रातिदेखि सुरु गरिएको थियो ।

निर्वाचन समिति संयोजक होमप्रकाश सुवेदीका अनुसार शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । शनिबार राति ९ बजेदेखि सुरु गरिएको मतगणना आइतबार सम्पन्न भई सोही दिन नै परिणाम घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । विजयी उम्मेदवारहरूलाई सोमबार सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिनेछ ।

शीतभण्डारमा कुल तीन हजार ७८७ सेयर सदस्य रहेकामा एक हजार ३६९ जनाले मतदान गरेका थिए । जसमध्ये एक हजार २९२ मत सदर र ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

शीतभण्डारमा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ । जसमध्ये तीन जना महिला सञ्चालक समिति सदस्य यसअघि नै निर्विरोध चयन भइसकेका थिए । त्यसैगरी ३ सदस्यीय लेखा समितिमा दुई सदस्य पनि निर्विरोध चयन भइसकेका थिए ।
यसपटक अध्यक्ष, उपाध्यक्ष, चार जना सञ्चालक समिति सदस्य र लेखा समिति संयोजकका लागि निर्वाचन भएको हो ।

निर्वाचन परिणामअनुसार सञ्चालक समिति अध्यक्षमा भट्टराईले ६९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी युवराज पौडेलले ५२९ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा अम्मरबहादुर खड्काले ६३९ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी मोहन रिजालले ५३७ मत प्राप्त गर्नुभएको निर्वाचन समिति संयोजक सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्यहरूमा गौरीकान्त आचार्यले ६७६, सिताराम थारुले ६१९, अर्जुन थारुले ५९१ र भीमबहादुर डाँगीले ५९१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

लेखा समिति संयोजकमा विष्णुकुमारी चौधरीले ६६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हेमकान्त लामिछानेले ४५० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।