सिँजा समाचारदाता
सिँजा (जुम्ला), वैशाख १४ गते । जुम्लामा अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन बढ्दो छ । विशेष गरी चन्दननाथ नगरपालिकाको दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाको झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाको लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँकानजिकको नदी छेउछाउमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन हुने गरेको छ ।
यस्तै तिला गाउँपालिकाको कुडारी, त्रिवेणी र रारा, सिँजा गाउँपालिकाको धितालिही, नराकोट, विष्टवाडा र रनुखाना, कनसुन्दरी गाउँपालिकको कोटघर, लासीपाटन र हिमा गाउँपालिकाको बाघबजार, बाँजागाड र आचार्यलिहीमा अवैध रूपमा नदीजन्य वस्तु उत्खनन गर्ने गरेका छन् तर सरोकारवाला निकायका प्रमुख प्रतिनिधि तैँ चुप मै चुप अवस्थामा छन् ।
स्थानीय सरकारको प्रमुख राजस्व आम्दानीका रूपमा रहेको नदीजन्य वस्तु गिट्टी, बालुवा व्यक्तिले जथाभाबी उत्खनन गर्ने र व्यक्तिगत रूपमा लाभ लिने गरेका छन् । स्थानीय सरकारलाई ऐन, कानुन, कार्यविधि बनाएर गिट्टी, बालुवाबाट राजस्व सङ्कलन गरी बिक्रीवितरण गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि बेवास्ता गरिएको छ । अवैध रूपमा डोजर प्रयोग गरी उत्खनन गर्दा नदी कुरूप बन्दै गएको छ भने अर्कोतर्फ माछा, भ्यागुता, सर्प जस्ता जलचर प्राणी लोप हुँदै गएका छन् ।
अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन गर्ने स्थान तातोपानी गाउँपालिका–४, हाँकुटापु हो । त्यहाँ बाह्रै महिना गिट्टी, बालुवा उत्खनन हुने गरेको छ । अवैध रूपमा गिट्टी, बालुवा उत्खननले हाँकुटापुमा रहेको रङ्गशाला पनि जोखिममा रहेको छ ।
स्थानीय पूर्वाधार आयोजना कार्यालय प्रदेश एकाइ सुर्खेतको गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड लागतमा निर्माणाधीन रङ्गशाला घेरा–पर्खाल भत्काइएको छ ।