• १४ वैशाख २०८३, सोमबार

वर्षा र चट्याङले पाँचौँ गुल्मी महोत्सव प्रभावित

blog

वर्षाका कारण प्रभावित पाँचौँ गुल्मी महोत्सव । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १४ गते ।
लगातार दुई दिन परेको वर्षा, असिना र चट्याङका कारण पाँचौँ गुल्मी महोत्सव प्रभावित भएको छ । महोत्सवको दोस्रो र तेस्रो दिन दिउँसो परेको ठूलो वर्षाले स्टल सञ्चालन गर्ने व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।

महोत्सव स्थलमा विशेषगरी फेन्सी सामग्रीका स्टल धेरै छन् । महोत्सवको आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद पौडेलका अनुसार वर्षाले कपडा तथा अन्य सामग्री भिजाएर नोक्सानी पुर्‍याएको छ ।

दर्शकहरू महोत्सवस्थल प्रवेश गर्ने समयमै लगातार वर्षा हुँदा व्यापारमा समेत असर परेको छ । स्टल चुहिने र पानी पस्ने समस्याका कारण ब्ल्याङ्केट, च्यादर, सिरक, डसना जस्ता सामग्री बिग्रने जोखिम बढेको व्यवसायीहरूले बताएका छन् ।

होटल व्यवसायीहरू पनि वर्षा सुरु हुनासाथ स्टल बन्द गर्नुपर्ने बाध्यतामा छन् । तेलमा पकाइने परिकारमा आगोको जोखिम हुने भएकाले सञ्चालनमा चुनौती थपिएको छ । अन्य स्टलको तुलनामा होटलका स्टल केही सुरक्षित भए पनि समग्र व्यापार प्रभावित भएको छ ।

आर्थिक उपसमिति संयोजक पौडेलका अनुसार प्रतिकूल मौसमका कारण अनुमान गरिएको आर्थिक कारोबार नहुने देखिएको छ । टिकट काटेर भित्रिएका दर्शकहरूले पनि वर्षाका कारण राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति हेर्न नपाउने अवस्था आएको छ । शनिबारका लागि आमन्त्रित लोकदोहोरी गायिका प्रिती आलेले प्रस्तुति दिन पाइनन् ।

आइतबार पनि प्रस्तुति भइरहेका बेला वर्षा परेपछि कार्यक्रम अवरुद्ध भएको सांगीतिक उपसमिति संयोजक ईश्वरी कँडेलले जानकारी दिनुभयो । निर्धारित समयमै कार्यक्रम सञ्चालन हुन नसक्दा यातायात र बसाइँ खर्च बढ्ने उहाँले बताउनुभयो ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा वैशाख ११ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको उद्घाटन रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गर्नुभएको थियो ।