• ३ असार २०८१, सोमबार

कैलालीमा सन्ताउन्न वडामा कांग्रेसको जित

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १२ गते । कैलाली जिल्लाका १३ स्थानीय तहका १२६ वडामध्ये नेपाली कांग्रेसले ५७ वडामा जितेको छ । यद्यपि, जिल्लाको दुईवटा पालिकामा नेपाली कांग्रेस शून्य अवस्थामा छ । नेपाली कांग्रेसले तीन पालिका जितेको छ ।

कैलालीमा चार पालिका प्रमुख जितेर पहिलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले १४ वटा वडा मात्र जितेको छ । उन्मुक्ति पार्टीले भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २९ वडामा जितेको छ । यद्यपि, नेकपा (एमाले) एक पालिकामा शून्य जनप्रतिनिधि रहेको छ । नेकपा (माओवादी केन्द्र)ले १९ वडामा जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई–दुई वडा परेको छ । तीनवटा वडा स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ । 

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले ११, नेकपा (एमाले)ले छ र नेकपा (माओवादी केन्द्र)ले दुई वडा जितेका छन् । यस्तै गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले सात, नेकपा (एमाले)ले चार वडा जितेका छन्। एक वडा स्वतन्त्र उम्मेदवारको पोल्टामा गएको छ । गौरीगङ्गा नगरपालिकामा नेपाली कांग्रेसले पाँच वडा जितेको छ । त्यस्तै, नेकपा (एमाले)ले एक, नेकपा (माओवादी केन्द्र)ले चार र नेकपा (एकीकृत समाजवादी)ले एक वडा जितेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

कैलारी गाउँपालिकामा नौवटै वडा नेपाली कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ । २०७४ को निर्वाचनमा सो पालिकामा पाँच वडा नेकपा (माओवादी केन्द्र), दुई नेपाली कांग्रेस र दुई अन्यले जितेका थिए । तर, यस पटक नेपाली कांग्रेसले आफ्नो प्यानलसहित सबै वडामा जित हात पारेको छ । भजनी नगरपालिकामा नेपाली कांग्रेसले एक वडामा मात्रै चित्त बुझाएको छ । नेकपा (एमाले)ले दुई, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले तीन–तीन वडामा जित हात पारेका छन् । यसैगरी, चुरे गाउँपालिकामा नेपाली कांग्रेसले दुई वडा जितेको छ । 

नेकपा (एमाले)ले चारवटा वडामा जित्दा अन्य दल शून्यको अवस्थामा छन् । मोहन्याल गाउँपालिकामा नेपाली कांग्रेसले चार वडा जितेको छ । नेकपा (एमाले)ले एक र नेकपा  (माओवादी केन्द्र)ले दुई वडामा जित हात पारेका छन् । घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले नौ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले एक–एक वडा जितेका छन् । बर्दगोरिया गाउँपालिकामा नेपाली कांग्रेसले एक, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुई–दुई वडा जितेका छन् । एक वडामा स्वतन्त्रको जित भएको छ । 

यसैगरी जोशीपुर गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एक–एक वडामा चित्त बुझाएका छन् । नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी चारवटा वडामा जित हात पा-यो । जनता समाजवादी पार्टीको भागमा एक वडा परेको छ । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेताद्वय रामजनम चौधरी र जनकराज चौधरीको गृह पालिकासमेत रहेको जोशीपुरमा नेपाली कांग्रेसले वडासमेत जित्न सकेन । सो पालिकामा शून्यमा कांग्रेसले चित्त बुझाएको छ । यसैगरी टीकापुर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र तीन–तीन वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीले दुई वडा जित्दा नेकपा (एमाले)ले भने एक वडामै चित्त बुझाएको छ । 

यस्तै जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी पाँच वडामा जित हात पारेको छ । नेकपा (एमाले)ले चार वडा जितेको छ । यो पालिकामा नेपाली कांग्रेस भने वडामा समेत जितविहीन रह्यो । अध्यक्षमा पराजित भएको नेपाली कांग्रेसले वडासमेत जित्न सकेन । १० वटा वडा रहेको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँचवटा वडा जितेको छ । नेकपा (एमाले)ले दुईवटा वडा जितेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रको भागमा भने एक–एकवटा वडा परेको छ ।