• १३ साउन २०८१, आइतबार

कार्यपालिका निर्वाचनका लागि काँग्रेस, माओवादी र राप्रपाबीच नयाँ गठबन्धन

blog

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय । तस्विर– सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ११ गते । भर्खरै सम्पन्न निर्वाचनमा पाँच दलले गठबन्धन गरेर नेपालगञ्ज उपमहानगरमा विजयी भए पनि कार्यपालिका चयनको विषयमा जनता समाजवादी पार्टीलाई एक्ल्याएर नयाँ गठबन्धन बनाइएको छ । नेपालगञ्ज नगर कार्यपालिकामा नेपाली काँग्रेसले जसपालाई छोडेर नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गरेको छ । 

स्थानीय निर्वाचन सम्पन्न भएर पदभार ग्रहण गरेको एक हप्ता नबित्दै बाँकेको नेपालगञ्जमा कार्यपालिका चयनको विषयमा नयाँ गठबन्धन बनेको हो । उपप्रमुखसहित ६ वडा अध्यक्षसहित पहिलो स्थानमा रहेको जसपालाई किनारा लगाउँदै कार्यपालिकाको निर्वाचनका लागि काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच नयाँ गठबन्धन निर्माण गरिएको छ ।

केन्द्रमा बनेको गठबन्धन विपरीत यहाँ गठबन्धन गरिएकोमा जसपा बाँकेले आपत्ति जनाएको छ । मुख्य निर्वाचन जित्नका लागि गठबन्धन गर्ने तर जितिसकेपछि सो विपरीत अर्कैसँग गठबन्धन गर्नु राजनीतिक बेइमानी भएको जसपा बाँकेको ठहर छ ।  

कार्यपालिका निर्वाचनका लागि काँग्रेस, माओवादी र राप्रपाबीच भएको सहमति अनुसार काँग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट तीन जना र दलित/अल्पसंख्यकबाट एक जना, माओवादीले निर्वाचित महिला सदस्य र दलित/अल्पसंख्यकबाट एक/एक जना तथा राप्रपाले पनि निर्वाचित महिला सदस्य र दलित/अल्पसंख्यकबाट एक/एक जना पाउने सहमति भएको काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । 

उहाँले जसपाले आफूले रोजेको ठाउँमा मात्र गठबन्धन गर्न खोजेपछि बाध्य भएर यो गठबन्धन गर्नुपरेको बताउनुभयो । नेपालगञ्जमा निर्वाचित महिलाबाट पाँच जना र दलित/अल्पसंख्यकबाट तीन जना गरी कुल आठ जना चुन्न निर्वाचन हुँदैछ । 

अब काँग्रेस, माओवादी केन्द्र र राप्रपाको सहमतिअनुसार कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गर्नेछन् । नेपालगञ्जमा कार्यपालिका सदस्य निर्वाचनका लागि जेठ १६ गते मतदान हुनेछ । 

सो निर्वाचनका लागि नगरबाट निर्वाचित ११७ जना मतदाता रहनुभएको छ । यी मध्ये काँग्रेसका ४२, राप्रपाका १४ र माओवादीका ११ जना गरी कुल ६७ जना छन् । यो गठबन्धनसँग आवश्यक बहुमत पुगेको छ ।