• ११ वैशाख २०८१, मङ्गलबार

‘वालेन जितेर एक पटक गाउँ आऊ’

blog

वालेन्द्र साहको पुर्खौली घर। तस्बिर : महेशकुमार दास

महेशकुमार दास 
जलेश्वर, जेठ ११ गते।
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।

देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३/४ वर्षकै उमेरदेखि देख्नुभएको हो। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उहाँको भनाइ छ। 

वालेनको बाल्यकाल सम्झँदै उहाँले भन्नुभयो, ‘‘बच्चे मे देखिने रहियै आव त वडाका भगेल होतै आब फेर एक वेर हुनका अपने गाउँठाउँमे देखके भेटके मन होइय (बाल्यकालमै देखका थियौं अब त उहाँ ठूलो भइसक्नु भयो होला। अब फेरि एक पटक उहाँलाई आफ्नै गाउँ ठाउँमा हेर्ने इच्छा छ।’’ 

काठमाडौं जितेर गाउँ आएपछि सबै मिलेर खुशी साट्नुपर्ने उहाँको भनाइ छ। विनिताले थप्नुभयो, ‘‘बालेन हजुर जितेर एक पटक गाउँ आउनुहोस्, हामी सारा गाउँवासीलाई हजुरसँग मिलेर जितको खुसी साटासाट गर्नुछ।’’

बालेनकै एकडारा-२ स्थित घर छेवमा रहेको आँप बगैंचामा घाँस काट्न बसेकी अवस्था भेटिएकी सोही ठाउँकी सकिना खातुनले वालेन जित्ने खबरले असाध्यै खुशी लागेको बताउनुभयो। 

काठमाडौं महानगरपालिकको प्रमुख पदमा वालेन जित्ने निश्चित भएको खुशियाली उहाँको अनुहारबाटै झल्की रहेको थियो। 

हँसिलो अनुहार बनाउँदै सकिनाले भन्नुभयो, ‘‘एकडारा गाउँवासीका लागि यो भन्दा ठूलो खुसी केही हुन सक्दैन, हिजोसम्म हाम्रो गाउँ एकडारालाई बढीमा प्रदेशसम्म चिन्थे होला, अब त आफ्नो वालेनका कारण देश विदेशमा गाउँको पहिचान उजागर भएको छ।’’ 


सकिना आफू मात्र होइन सारा गाउँवासी खुसीले गदगद भएको र गाउँभर नै उत्साहको माहोल रहेको सुनाउनुहुन्छ। ‘‘बालेन जितेको खबर सुन्न हामी आकुल व्याकुल छौं। जिते लगतै गाउँभरि दीपावली मनाउने छौं’’, उहाँले भन्नुभयो। 

 बालेनको पुख्र्याैली घर पछाडि एउटा पोखरी छ। पोखरीको डिलमा श्री १०८ विश्वनाथ मन्दिर उल्लेख रहेको महादेव मन्दिर छ। सोही मन्दिरका पुजारी रामचन्द्र तिवारीले वालेन जित्न लागेको खबरले गाउँमा मात्र होइन जिल्लामै एउटा तरङ ल्याइदिएको बताउनुभयो। 

वालेन गाउँमा कमै आउने जाने गर्थे तर उहाँका बुवा डा. रामनारायण साह गाउँका चर्चित व्यक्ति रहेको मन्दिरका पुजारी तिवारीले सुनाउनुहुन्छ।  

मन्दिर देखाउँदै उहाँले भन्नुभयो, यो मन्दिर पनि उहाँकै छ, उहाँले नै १० कठा खेत जोत खन्न गर्न दिएर पूजा पाठ गर्ने खर्चसमेत जुटाइ दिनुभएको छ। १२ वर्षदेखि उहाँहरुकै सहयोगमा दैनिक भगवान्को सेवा गर्न पाएको पुजारी तिवारीले सुनाउनुभयो। 

काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुसीको माहोल हुनु स्वाभाविक भएको एकडारा गाउँपालिका —१ घर भएका नरेश तिवारीको भनाइ छ। 

‘‘अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नतिजा घोषणा भएलगत्तै गाउँमा दीपावलीसँगै मिठाई बाँडेर खुसीयाली मनाउने तयारी छ’’, तिवारीले भन्नुभयो, ‘‘यसको एउटै कारण हो कहिल्यै नसोचेको नतिजा एकडारा गाउँबासीले मात्र होइन देशले नै पाउन गइरहेको छ।’’ केही युवा वालेनको खुसीमा सहभागी हुन काठमाडौं पुगिसकेको उहाँको भनाइ छ। 


‘‘देशकै राजधानीमा आफ्नै गाउँका युवक इतिहास रच्दैछन्। स्वतन्त्रबाट उठेर  काठमाडौं महानगरको प्रमुखमा जित नजिक पुगेका वालेन्द्र शाह यही गाउँका छोरा÷नाति हुन्’’, एकडारा वडा नम्बर १ का अर्का स्थानीय इन्द्रकान्त झाले भन्नुभयो। 

वालेनको पुर्खौली घर एकडारा गाउँपालिका वडा नम्बर २ मा छ। उहाँका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए। त्यसै कारण उहाँलाई सबैले ‘महाजन’ भनेर सम्बोधन गर्ने गर्थे।  मुनिलालका चार छोरामध्ये बुवा डा. रामनारायण साह र आमा धुव्रदेवी साहको कान्छो छोरा वालेन्द्र साह हुन्।  बालेन्द्रका बुवा रामनागरायण आयुर्वेद डाक्टरसमेत हुन्। 

 डा. रामनारायण करिब चार दशकअघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रुपमा काम गर्न पुग्नुभएको थियो। सोही बेलादेखि उहाँ सपरिवार काठमाडौंमै बस्नुहुन्छ। उहाँका जेठो कौशलेन्द्र र कान्छो छोरा वालेन्द्र हुन्। 

बालेनका बुवा रामनारायणको पहिलो पत्नी रितेश्वरी देवी साह हुन्। उहाँको माइती भारतको मधुवनी जिल्लामा पर्छ। दोस्रो पत्नी ध्रुवदेवी साह अर्थात् बालेनको आमाको माइत जमुनिवास ४ धनुषा रहेको छ।  

वालेनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिकाको प्रशासनिक कार्यालय छ। स्थानीयका अनुसार, सो घर गाउँपालिका कार्यालयलाई भाडामा दिइएको छ।

छ महिना पहिले मात्र रामनारायण र उनका कान्छो छोरा वालेन एकडारा आउनु भएको थियो। एकडारा आएको वेला गाउँमै साप्ताहिक हटिया लगाउन एक करोडभन्दा बढी मूल्य बराबरको जग्गा वडा कार्यालयको नाममा दान दिनुभएको थियो। एक कठा बिक्री गरेर गएका वालेनको नातामा हजुरबुवा पर्ने हरिनारायण साहले बताउनुभयो। 


वालेनको पुर्खौली घर आसपासमा रहेको बगैंचा र मन्दिर।  तस्बिर : महेशकुमार दास