राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु
देउखुरी, वैशाख ३ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताउनुभयो । उपकुलपति नियुक्त भएपछि डा लामिछानेले प्रसूति सेवालाई निःशुल्क गराउने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले पूर्वनिर्धारित योजनाअनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा निःशुल्क गरिएको जानकारी दिनुभएको हो । यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निःशुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि सुत्केरी हुन आउने महिलाले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो । प्रसूति सेवा निःशुल्क भएपछि प्रसूतिका लागि आउने आमालाई सहज हुने स्थानीय बताउँछन् । घोराहीमा निःशुल्क प्रसूति सेवा नभएका काराण दाङका महिलालाई पैसा खर्च गरेर नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता रहेको थियो । उपकुलपति डा लामिछानेले निःशुल्क प्रसूति सेवाका लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताउनुभयो ।
ब्युँतिएन जिरी
बाबुराम शर्मा चरीकोट, वैशाख ३ गते । कुनै दिन मिनी स्विट्जरल्यान्ड भनेर विश्वभर चर्चामा रहेको जिरी विविध कारणले गर्दा पुरानो लयमा आउन सकेको छैन । सडक सञ्जाल जोडिएपछि पूर्ण रूपमा सञ्चालनमा आएको एयरपोर्ट सेवा बन्द हुन पुगेपछि आन्तरिक पर्यटक आगमनमा कमी हुँदै गएकाले जिरी पुरानो लयमा आउन नसकेको जिरी नगरपालिकाका नगरप्रमुख टङ्कबहादुर जिरेलले गुनासो पोख्नुभयो । उहाँका अनुसार जिरीलाई पुरानै लयमा ल्याउन नगरभित्रका पर्यटक लोभ्याउने प्रायःजसो पर्यटकीय स्थलको निर्माण तथा मर्मत गरिए पनि विमानस्थल गौचरणमा परिणत हुँदा असर पारिरहेको छ । स्विस सरकारले स्थापना गरिदिएका जिल्ला अस्पताल, गाईफर्म, जिरी प्राविधिक शिक्षालयलगायत आकर्षक स्थलहरू सञ्चालनमा आइरहँदा पनि विमानस्थल बन्द हुन पुगेपछि जिरी पुरानै लयमा आउन सकिरहेको छैन । काठमाडौंको धुलो, धुवाँदेखि वाक्क लागेर स्वच्छ वातावरणमा रम्न यहाँ आउनेको सङ्ख्या पनि खासै बढेन । बाह्य पर्यटकले खचाखच हुने जिरी लयमा फर्काउन अन्य उपाय उपलब्धिमूलक बन्न नसकेपछि गुनासो पोख्दै उहाँले भन्नुभयो, “एयरपोर्ट हुँदा सोलु, ओखलढुङ्गालगायत र सगरमाथा आरोहणमा आउने बाह्य पर्यटक यहाँ खचाखच हुन्थे । एयरपोर्ट बन्द भएपछि उता जाने पर्यटक काठमाडौँबाटै सिधै जान्छन् । अहिले फाटफुट बाह्य पर्यटक देख्न पाइन्छ । आन्तरिक पनि त्यति आउँदैनन् ।” काठमाडौँका ठूला घरको झल्को दिने ठूलो टावर, अपार्टमेन्ट जस्ता ठूला भवन, विद्यालय, बास्केटबल कोर्ट बनिसकेका छन् । अलि पर जङ्गल, हेरिरहुँ जस्ता दृश्य छन् । पारिपट्टिको वनलाई कुहिरोले ढाकेर हरियो वनमाथि सेतो घुम्टो ओढाए जस्तै साँच्चै मनमोहक दृश्य हेर्न पाइन्छ । गाईले ढुङ्गालाई दूध दिन थालेपछि पुजिन थालेको जिरेश्वरी महादेव मन्दिर, अग्लो ढुङ्गा, ढुङ्गाको गुफाभित्र त्रिशूलैत्रिशूलले भरिएका मठमन्दिर । मन्दिरबाट देखिने माथिबाट बगिरहेको झरना र तल बगिरहेको निश्चल खोलाले मनै आनन्द बनाउने थुप्रै दृश्य यहाँ छन् । गुफामा रहेको गाईका थुन जस्ता आकृतिबाट पहिला दूध आउँथ्यो भनिन्छ, अहिले पनि पानी चुहिरहन्छ । यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने विश्वास छ । यहाँ पर्यटक आकर्षण गर्न पहिलो पटक सगरमाथा चढ्न सफल आरोही स्वार्गीय तेञ्जिङ नोर्गे शेर्पा र स्वर्गीय सर एडमन्ड पर्सिभल हिलारी पार्क निर्माण गरिएको छ । उनीहरू सगरमाथा चढ्न जाँदा यहाँ विश्राम गर्न बसेका थिए । मनै लोभ्याउने दुई हजार ३८४ मिटर उचाइमा बुद्धपार्क निर्माण गरिएको छ । गौचरण बनेको एयरपोर्ट चौरको छेउबाटै खोला बगिरहन्छ । २०४० सालअघि विमानस्थल रहेको उक्त चौर गौचरणमा परिणत भएको पनि करिब चार दशक पुग्न लागिसकेको छ । धेरै प्रयास गर्दा पनि एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन । एयरपोर्ट सञ्चालनमा आए जिरी पुरानै लयमा फर्किने अपेक्षा जिरीवासीले राखेका छन् ।
आठ वर्षदेखि पुुल अलपत्र
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ३ गते । रुपन्देहीको भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने मूल सडकका दुईवटा पुल आठ वर्षदेखि अलपत्र परेका छन् । तिनाउ र दानव नदीमा आधा निर्माण भएर रोकिएका ती पुल निर्माणको बाँकी काम कहिले सुरु हुने हो ठेगान छैन । ती पुल पहिले पप्पु बाग्मती जेभी कन्स्ट्रक्सन प्रालिसँगको सम्झौताअनुरूप निर्माण नभएपछि तोडिएको थियो । पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरे पनि तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरी अलपत्र पारेर भागेको हो ।अहिले नयाँ–नयाँ कम्पनीलाई ठेक्का दिए पनि पुलको अवस्था भने उस्तै छ । विश्वमा शान्तिको सन्देश फैलाउने लुम्बिनी पुग्नुअघि सोही बाटो हुँदै लुम्बिनी पुग्नेले ती पुलको दुर्दशा देख्ने गरेका छन् । लुम्बिनी जाने सडक फराकिलो पारिए पनि तिनै पुलका कारण सो सडकको सुन्दरता कायम हुन सकेको छैन । अलपत्र अवस्थाका पुलको बाँकी कामका लागि रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको भए पनि सो कम्पनीले पनि कामै थालेको छैन ।तिनाउ खोलाको पुल निर्माणका लागि पप्पुसँग छ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो भने दानव नदीको डन्डा पुल निर्माणका लागि पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपियाँमा भ्याटसहित ठेक्का सम्झौता भएको थियो ।बेथरी बजारछेउमा पुरानो संरचनामा रहेको अहिलेको चालू सानो पुल जीर्ण र जोखिममा छ भने सोही स्थानमा सानो प्रहरी बिट नै राखेर एकतर्फी सवारी आवागमनको व्यवस्था गरिएको छ । सो स्थानमा दैनिक पाँच जना ट्राफिक प्रहरी खटाएर सवारी आवतजावत गराइएको छ ।हालसम्म पप्पुले यी दुवै पुलबाट साढे पाँच करोड रुपियाँभन्दा बढी भुक्तानी लगिसकेको हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले जानकारी दिनुभयो । “अलपत्र पारिएको पुलमा दुईवटा पिलर मात्र ठड्याइएको छ, आधा ढलानसमेत गरिएको छ, अब हामी छिटो निर्माणका लागि नयाँ कम्पनीलाई ताकेता गर्छाैं,” उहाँले भन्नुभयो । भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभीसँग सम्झौता भएको थियो । १० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई जिम्मा दिइएको उहाँले बताउनुुभयो । ठेक्का सम्झौता भएको १५ दिनभित्र फिल्डमा जानुपर्ने भए पनि ठेकेदार फिल्डमा नगएकाले काम सुरु गर्न पत्र पठाइएको उहाँको भनाइ छ । काम सुरु गर्न निर्माण कम्पनीलाई पत्र पठाए पनि पत्रको जवाफ नआएको र मौखिक रूपमा हप्ता दिनमै काम सुरु गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।२०७१ असार २५ मा पप्पु÷बागमती जेभीले दुई वर्षमा काम सक्ने गरी जिम्मा लिए पनि म्याद थपसहित २०७५ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको थियो तर पुल निर्माणको ठेक्का लिएर पटक–पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो । हुलाकी सडक आयोजनाले विभागको निर्देशनअनुसार नै ठेक्का तोडेको हो । लुम्बिनी पुग्ने पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी यही सडकबाट ओहोरदोहोर गर्ने गरेको पर्र्यटन व्यवसायी खिम श्रेष्ठ बताउनुहुन्छ । पुल समयमा नबन्दा लुम्बिनी आउने पर्यटकले धेरै दुःख पाएको र पुल नबन्दा घण्टौँ लाम लागेर सवारीसाधन र मानिस ओहोरदोहोर गर्नुपर्दा लुम्बिनीको प्रतिष्ठामा आँच ल्याउने काम भइरहेको उहाँको भनाइ छ ।
भित्तरगौँडा भीर छिचोलेर सडक
हुम्ला समाचारदाताहुम्ला, वैशाख ३ गते । पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तरगौडा सडकखण्डको भीर छिचोल्ने काम पूरा भएको छ । लगातार दुुई महिना विस्फोट र निर्माणको काम एकैसाथ गरी सो भीर छिचोलिएको हो ।पूर्वाधार विकास कार्यालयका प्रमुुख देवी ऐडीले लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको बताउनुुभयो । दुुई सय मिटर लामो उक्त सडकखण्डमा सेनाको समन्वयमा विस्फोट गर्ने र स्काभेटरबाट निर्माण गर्ने काम एकसाथ अगाडि बढाइएको थियो । उहाँले करिब ४० मिटर अग्लो चट्टानलाई विस्फोट गरी स्काभेटरबाट काटरेर भीरमा सडक निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।उहाँले कुल ७.३२ किमि सडकखण्डमध्ये चार सय मिटर कडा चट्टान रहेकामा एउटा चट्टानी भागको निर्माण कार्य पूरा भएको र अब अर्को भीर बाँकी रहेकाले त्यो पनि छिटै निर्माण सुुरु हुने बताउनुुभयो । सडक निर्माणका लागि सम्झौता भएको १५ महिनापछि चट्टान विस्फोट सुरु भएको बताउनुभयो । सेनाको अनुमतिमा विस्फोटक पदार्थ खरिद प्रक्रियामा जाँदा समय लागेकाले निर्माणमा ढिलाइ भएको जनाइएको छ । ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि ०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।उहाँले विस्फोटक पदार्थ खरिदका लागि सेनासँग लामो प्रक्रिया लागेका कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताउनुुभयो । सोही सडकखण्डको चट्टानी क्षेत्रबाहेक अन्य क्षेत्रको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको थियो । कार्यालयलाई विस्फोटक पदार्थ प्राप्त हुने बित्तिकै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विस्फोट गर्ने काम सुरु भएको जनाइएको छ ।छोटो समयमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक आवश्यक विस्फोटक पदार्थ नभएकै कारण निर्माणमा ढिलाइ भएको थियो । सडक निर्माणका लागि चार करोड ६५ लाख नौ हजार रुपियाँमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको थियो । यसअघि सो कार्यालयले सोही सडकखण्डको ग्यागु्रदेखि दोजाम गाउँसम्म सडक निर्माण सम्पन्न गरिसकेको छ । अब दोजामबाट ताकुुलेकसम्मको भागमा सडक निर्माण गर्न भने बाँकी छ । सडक निर्माणपछि चुवाखोला क्षेत्रको पर्यटन प्रवद्र्धन र जडीबुटीको सहज निकासीमा सहयोग पुुग्ने विश्वास गरिएको छ ।
आदिबासी समुदायले मनाउँदै छन् सिरुवा पर्व
बिष्णुप्रसाद पोखरेलदमक, वैशाख २ गते । झापाका बिभिन्न आदिबासी समुदायले यो बर्ष हर्ष उल्लासका साथ सिरुवा पर्व मनाइरहेका छन् । कोरोना संक्रमणको महामारीले दुई बर्षसम्म खुलेर सिरुवा पर्व मनाउन नपाएका आदिबासी समुदायले यो बर्ष सिरुवा पर्व भब्यताकासाथ मनाएका हुन् । राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले बैशाख १ गते विहिबार पानी एक अर्कालाई छ्यापेर र दोश्रो दिन शुक्रबार हिलो (काद) दलादल गरेर अन्तिम अर्थात शनिवार रंग दलेर यो पर्व मनाउँदै छ्न । कतिपय ग्रामथानहरुमा सामुहिक कुलपुजासहितको धार्मिक मेला समेत लाग्दैआएको छ ।एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा ग्रामथानमा भेला भएर यो पर्व मनाउने कार्य भइरहेको आदिबासी नेता नित्यानन्द ताजपुरीयाले बताउनुभयो । उहाँकाअनुसार आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्ने कार्य पनि भइरहेको छ । उहाँकाअनुसार कमल गाउँपालिका ६ को ग्रामथानमा सदियौकालदेखि परम्परागत रुपमा हुँदैआएको कुलपुजासहितको धार्मिक मेला पनि यो बर्ष भब्य रुपमा सकिएको छ । विहीबार लागेको मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिनुभयो ।विवाह गरेर गएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको गौरीगन्जकी आदिबासी अगुवा महिला फुलवती राजवंशीले बताउनुभयो ।
एमालेको गतिलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली
बेलिना थापालमजुङ, बैशाख २ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिजयपथमा लम्किसकेकाले अव कसैले एमालेको गतिलाई रोक्न नसक्ने बताउनुभएको छ । एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीका कमिटी, जनसंगठन झन् बढी सक्रिय भएको उहाँले दावी गर्नुभयो । एमालेले छोटो अवधीमा विधान महाधिवशेन गरी नीति, कार्यक्रम व्यवस्थित गरेको, संगठनात्मक संरचनाको व्यवस्था गरेको बताउनुभयो । नीतिगत रुपमा पार्टी सञ्चालन गर्न, पार्टीलाई अनुशासित र गतिशील बनाउन राष्ट्रिय महाधिवेशन आयोजना गरिएको उहाँले बताउनुभयो । एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न भएपछि मात्र ढुक्कले निदाउन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कार्यालय सचिव डा. भिष्मनाथ अधिकारी, केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, टुका हमाल, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रदेश, जिल्ला, पालिका कमिटीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।
समाजबादी पार्टीका सचिव एमालेमा
कमल शर्मादैलेख, वैशाख २ गते । नेकपा (एकीकृत समाजवादी) का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्कनु भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्काले नेकपा (एकीकृत समाजबादी) पार्टी परित्याग गरी पुरानै मुल पार्टी एमालेमा फर्कनु भएको हो । उहाँले एक विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको भएपनि सो जिम्मेवारी आजैबाट छाडी एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ । पार्टी विभाजनका कारण एमालेभन्दा बाहिर रहेका सबैलाई उहाँले एमालेमै फर्कन आव्हान पनि गर्नुभएको छ । खड्कालाई एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतले पार्टीमा स्वागत गर्नुभयो । खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुनेगरी काम गरिरहेको बताउनुभयो ।
बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिने
सिराज खान नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाकारण बाँकेमा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।६५ किलोमिटर खुला सीमाना भएको यो जिल्लाको निर्वाचन सुरक्षालाई विशेष महत्वका साथ हेरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकाअनुसार, मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्थाबारे अध्ययन गरेर सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो । स्थलगत अनुगमनपछि जिल्लाभर करिब चार हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले अति नै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइने जानकारी उहाँले दिनुभयो ।बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले १ हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोहीअनुसार सम्बन्धित ठाउँमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । बाँकेमा १०१ मतदान केन्द्र अति संवेदनशील ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी पनि खटाइने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षाबारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुझाव माग गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वीरगञ्ज भन्सारद्वारा १ खर्ब ५५ अर्ब रुपियाँभन्दा बढी राजश्व संकलन
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । मुलुककै प्रमुख नाका वीरगञ्जमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले दिएको लक्ष्यभन्दा २ दशमलव ३ अर्थात् ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार रुपियाँ राजश्व असुल गरेको हो । गत आर्थिक वर्षमा २०७७–७८ को सोही अवधिमा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपियाँ राजश्व असुली भएको थियो । भन्सार विभागले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनामध्ये साउन, कात्तिक, पुस, माघ, फागुन र चैत महिनामा भन्सार विभागले दिएको राजश्व संकलन गर्ने लक्ष्य भेट्टाउन सकेको छैन । साउन महिनामा लक्ष्यको ९९ दशमलव ५ प्रतिशत, कात्तिक महिनामा लक्ष्यको ९७ दशमलव २ प्रतिशत, पुस महिनामा लक्ष्यको ९७ दशमलव ७ प्रतिशत, माघ महिनामा लक्ष्यको ९५ दशमलव ९ प्रतिशत, फागुन महिनामा लक्ष्यको ९८ दशमलव ७ प्रतिशत र चैत महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित जीतबहादुर विकको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । विहीबार मध्यान्ह १२ बजे आगलागी भई घर र गोठ जलेर नष्ट भएको पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित विकको परिवारलाई ठोरी गाउँपालिका, नेपाली काँग्रेस ठोरी कमिटी र दलित विकास केन्द्रले बेग्लाबेग्लै राहत सामग्री हस्तान्तरण गरेको हो ।आगलागी पीडित परिवारलाई गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठसहितको टोलीले दिउँसो आगो निभाउनेबित्तिकै अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । विहीबार साँझ दलित विकास केन्द्रले आगलागीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस ठोरी कमिटीले शुक्रबार बिहानै आगलागी पीडित परिवारलाई चामल, दाल, तेल, नुनलगायतका अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । काँग्रेस मधेश प्रदेशका महामन्त्री एवं काँग्रेसकातर्फबाट आगलागी पीडित विक परिवारलाई अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाउँपालिका १ सरस्वतीनगर फायरलाइनमा आगलागी हुँदा विकको घर, गोठ र भान्साघर जलेर नष्ट भएको तथा आगलागीबाट १५ लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । स्थानीय जगेन्द्र पौडेलकाअनुसार वीरगञ्ज र पोखरीयाबाट आएका वारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय तहको निर्वाचन नजिकिएकाले आगलागी पीडितलाई राहत सामग्रीको ओईरो लागेको भनी सामाजिक सञ्जालमा टिक्काटिप्पणी हुन थालेको छ ।
आगलागीमा परी सप्तरीमा बालकको मृत्यु
ललिता साहसप्तरी, वैशाख २ गते । आगलागीमा परी शुक्रबार सप्तरीमा एक बालकको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैया टोलस्थित शत्रुधन यादवको घरमा आगलागी हुँदा उहाँका ८ वर्षीय छोरा शैलेशकुमार यादवको जलेर मृत्यु भएको हो । स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार दिउँसो ३ बजे एक्कासि घरमा आगो लागेको र बालक घरभित्रै हुँदा उनको जलेर मृत्यु भएको हो । ‘फुसको गोठ हुँदै आगो चार कोठे पक्की घरमा पुगेको थियो । आगो नियन्त्रणमा लिन समय लाग्दा घर भित्र रहेको बालकको ज्यान गएको हो ।’ उहाँले भन्नुभयो । सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले घटनाको क्षतिबारे विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो । तर, आगलागीमा लाखौं रुपियाँ बराबरको धनमालको क्षति भएको उहाँको अनुमान छ ।
सुकेटारमा तीन सातापछि उडान सुचारु
चन्द्र पन्दाकताप्लेजुङ, बैशाख २ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन सातापछि उडान सुचारु भएको छ । प्रतिकुल मौसमकाकारण अवरुद्ध बनेको उडान तीन सातापछि शुक्रबारदेखि सुचारु भएको हो । बाक्लो तुँवालो (हुस्सु) का कारण सुकेटार विमानस्थलमा पछिल्लो तीन सातायता लगातार उडान अवरुद्ध हुँदैआएको थियो । शुक्रबारदेखि मौसममा सुधार आएसँगै उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लामो समयसम्म अवरुद्ध बनेको उडान सुचारु भएसँगै शुक्रबार एकैदिन काठमाडौं–ताप्लेजुङ तीन उडान भएको लिम्बूले जानकारी दिनुभयो ।हालको पर्यटकीय मौसममा लगातार उडान अवरुद्ध हुदाँ विदेशी पर्यटकसहितका यात्रु मारमा पर्दै आएका थिए । क्रमिकरुपमा मौसममा सुधार आउन थालेकाले अब तालिकाअनुसार नियमित उडान हुने स्टेशन इन्चार्ज लिम्बूले बताउनुभयो । निगमकाअनुसार मौसम प्रतिकुल भएपछि आठ उडान अवरुद्ध हुन पुगेको थियो । करिव तीन सातासम्म उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट बुकिङ गरेका यात्रुहरु विमानस्थल पुग्दै फर्कनेगरेका छन् । हरेक दिन (उडान हुने दिन) यात्रु विमानस्थलमा पुगेर एक डेढ घण्टा जहाज पर्खंदै उडान रद्द भएको जानकारी लिँदै फर्कने गरेका थिए । उडान अवरुद्ध हुँदा कञ्चनजङ्घाको भ्रमणमा आएका विदेशी पर्यटकसमेत प्रभावित बनेका थिए । हाल पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ सीधा उडान सञ्चालन गर्नेगरेको छ । सुकेटार विमानस्थल दुई हजार ४०० मिटरको उचाइमा रहेकाले हुस्सुसहित मौसम प्रतिकुल भएमा उडान प्रभावित हुनेगरेको छ ।
चीनबाट तातोपानी नाकामा भित्रिन थाले साझाका बस
चित्र मिजारसिन्धुपाल्चोक, बैशाख २ गते । चीनबाट तातोपानी नाका हुँदैं बिद्युतीय साझा बस भित्रन थालेका छन् । साझा यातयातले परीक्षणको रुपमा ल्याएको तीनवटा बिद्युतीय साझा बस तातोपानी भन्सार कार्यालयमा चेकजाँच गर्न थालिएको छ ।सो साझा बस परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा साझा बस सोही नाकाबाट ल्याउने तयारी रहेको बताइएको छ । चीनको उकालो सडकमा बिजुली बसको ‘गे्रडबिलिटि टेष्ट’ (उकालो तान्ने क्षमता) परीक्षण गरेपछि नेपाल ल्याइएको आयात गर्ने ‘दी गो’ कम्पनीले जनाएको छ । सीएटचीसीएचओका बस नेपाल ‘दी गो’ ले आयात गरी बिक्री गर्न लागेको हो । सो कम्पनीले प्रतिबस ढेड करोड रुपियाँमा खरिद गरी ल्याएको हो । पहिलो चरणमा ९ मिटर लामो बस किन्ने र त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने बिद्युतीय बसहरु पनि नेपाल भित्र्याउने कम्पनीले जनाएको छ । २५ सिटभन्दा बढी क्षमताका बसहरु ल्याइने भएका छन् । सो बसहरुमा वाइफाई, टिभी डिस्प्ले, सिसी क्यामेरा जडित छन् । अन्य सेवाहरु क्रमैसँग थप्दै जाने जनाइएको छ । सरकारले ९ पुस २०७५ मा तीनसय बिजुली बस सरकारी लागतमा खरिद गर्ने निर्णय गरेको थियो ।
प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने
निशा राईधरान, वैशाख २ गते । फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल नाराकोसाथ हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजना बैशाख ३ गतेदेखि १० गतेसम्म हुनेभएको छ । क्लबले पत्रकार सम्मेलन गर्दै धरानलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यसाथ धरान उपमहानगरपालिकाद्वारा विभिन्न प्रतियोगितामा आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दैआएको छ । फुटबलमा नै समर्पण गरी आफ्नो जिवन विताइरहेका खेलाडिहरुका लागि पनि यस क्लवले ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका अध्यक्ष अशोककुमार राईले बताउनुभयो ।प्रतियोगितामा प्रदेश १ भरिका विभिन्न १२ टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा सहभागी हुने टिममा ३८ बर्षको ३ जना, ४० बर्षका ८ जना अनिवार्य खेलाडी हुनुपर्नेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेता हुने टिमले नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६ लाख ५५ हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।
पाँच वर्षमा २७ वटा वडा कार्यालय भवन निर्माण
राजन रावतहुुम्ला, बैशाख २ गते । पाँच वर्षको अबधिमा जिल्लाका सातवटा गाउँपालिकामध्ये छ वटाका २७ वटा वडाहरुको आफ्नै भवन बनेर कार्यालय सञ्चालनमा आएका छन् । नयाँ भवन बनेका वडालाई कार्यालय सञ्चालनमा सहजता आएको छ भने बाँकी वडाहरु अहिले पनि भाडाकै भवनमा काम गर्दैआएका छन् । नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुुबहादुर लामाले छ वटै वडाका नयाँ भवन बनेर सञ्चालनमा आएको बताउनुुभयो । आफुु निर्वाचित भएपछि सबै वडाका आफ्नै भवन बनाउने भनेअनुुसारको कार्य पुुरा भएको उहाँले बताउनुुभयो । वडा १, २, ३ र ६ को भवन बनेर सञ्चालनमा आइसकेको र बाँकी ४ र ५ नम्बर वडाको भवन निर्माण कार्य अन्तिम चरणमा पुुगेको उहाँले बताउनुभयो । जेठ महिनासम्म काम सम्पन्न भएर सञ्चालनमा आउने उहाँको भनाई छ । यता सदरमुुकाम रहेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटा वडामध्ये २, ६ र ८ को मात्रै आफ्नै भवन निर्माण भएको र बाँकीको हुुन नसकेको बताउनुुभयो । यी वडाको आफ्नै नाममा जग्गा नभएको कारण पनि भवन निर्माणमा समस्या भएको हो । यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पाँचवटै वडाका नयाँ भवन निर्माण गरेर सञ्चालनमा आएको बताउनुुभयो । त्यसैगरी मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका आठवटा वडामध्य वडा नम्बर २ बाहेक अन्य सबैको आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । त्यसैगरी अदानचुली गाउँपालिकाको पनि वडा २, ३ र ४ को भवन निर्माण भएका छन् । त्यस्तै, वडा १, ५ र ६ को भने नयाँ भवन निर्माण हुन बाँकी छ । बाजुुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालकाअनुसार पाँचवटै वडाका आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । यी भवनहरुमध्ये अधिकांश गाउँपालिकाले निर्माण गरेका हुुन भने केही मिलान कोष साझेदारीमा र केही अन्य सहयोगी निकायको सहयोगमा निर्माण गरिएका हुन । गाउँपालिकाले जनाएअनुसार बाँकी १७ वटा वडाका भवन वडाको नाममा जग्गा नभएका कारण भवन निर्माण हुन नसकेका हुन ।
डोजरे विकासले पहाडको पानीको मूल सुकायो
गोकर्ण दयाल बैतडी, वैशाख २ गते । पहाडको चिसो बताससँगै बग्ने निर्मल पानी सम्झेर तराई झर्नेदेखि रोजगारीका लागि परदेश जाने सबैले अञ्जुलीमा पहाडको चिसो पानी पिउने कुराको वर्णन गरेर गाईएको गीतको स्मरण सबैले गर्नुहुन्छ । गीतमा वर्णन गरेजस्तै पहाडका कन्दराबाट दूधजस्तै बग्ने पानीका मुल सुक्न थालेका छन् । डाडाँमाथि जथाभावी डोजरले सडक खन्दा वस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ । पर्यावरणीय अध्ययन नगरी अन्दाधुन्ध डोजरले बाटो निर्माण गर्दा दूधजस्तै कञ्चन बग्ने बैतडीका १० वटा पानीका मुहान सुकेका छन् । डोजरले डाँडाकाँडा चिर्दा थुप्रिएको माटोले बैतडीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान समेत पुरिएका छन् । बैतडीमा नेताका डोजरले जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सङ्कटमा परेको नागरिक समाज बैतडीका गणेश ठकुराठीले बताउनुभयो । “चुनाव जितेपछि नेताले आफ्नै डोजर किनेका छन्”, ठकुराठीले भन्नुभयो, “पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा पानीका मुहान सुक्न थालेका छन् ।” पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले बैतडीका विभिन्न स्थानीय तहमा खोलाबाट १३ वटा लिफ््ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ । लिफ्ट प्रविधिबाट अहिले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं, पाटन नगरपालिकाको गैराखान, मेलौली नगरपालिकाको मेलौली, सिगास गाउँपालिका–३, को लगन र दोगडाकेदार गरी १३ वटा लिफ्ट प्रविधिका खानोनी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । डोजरकै कारणले दशरथ चन्द नगरपालिका –२, देहिमाण्डौंमा खानेपानीका मुहान सुकेका छन् । माटोले पुरिएको खोलाको मुहान देखााउँदै स्थानीय पूर्णबहादुर बोहराले भन्नुभयो– “दुई तीन वर्षअघि कलकल बग्ने भट्टाड खोलाको पानी अहिले सुकेको छ । माछा भेटिने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ ।”जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोलाहरु पुरिएको स्थानीयको भनाई छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ््ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको देहिमाण्डौंवासीले बताएका छन् । जथाभावी डोजर चल्दा मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि बजारबाट निकै टाढाको जंगलबाट घोडामा पानी बोकेर होटल सञ्चालन गर्नु परिरहेको मेलौली नगरपालिकास्थित बिजु होटलका सञ्चालक विजयसिंह नायकले पीडा सुनाउनुभयो । मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदी किनारबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण हुन लागेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ । डोजरका कारण बैतडीका दुई महत्वपूर्ण संरक्षित वनका रुपमा रहेका सिगास संरक्षित वन र ग्वाल्लेक संरक्षित वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका छन् । बैतडी सदरमुकामका लागि खानेपानीको आपूर्ति हुँदैआएको ग्वाल्लेक संरक्षित वनबाट आउने पानी घटेको साना सहरी खानेपानीका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो । ग्वाल्लेक संरक्षित वनमा दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले दुबैतिरबाट डोजर चलाएर सडक खन्न थालेपछि ग्वाल्लेक संरक्षित वन संकटमा परेको छ ।
स्थानीय तह निर्वाचन उम्मेदवार छनोटमै सकस
शान्ता अधिकारी चितवन, वैशाख २ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनमा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीनवटै पार्टीले पहिलो चरणको चुनावी घरदैलो पूरा गरेर पालिका तहका उम्मेदवार घोषणाको तयारीमा छन् ।महानगर प्रमुखमा एमालेले बागमती प्रदेश सभा सदस्य विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी केन्द्रले रेनु दाहाललाई नै नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ । काँग्रेसमा भने आकाङ्क्षीहरू धेरै देखिएका छन् । जिल्ला पार्टी सभापति राजेश्वर खनालका अनुसार महानगर प्रमुखमा २५ र उपप्रमुखमा २४ जनाले पार्टीसमक्ष उम्मेदवारी दाबी पेस गरेका छन् ।वैशाख ४ गतेभित्र सहमति गरी केन्द्रमा नाम पठाउने परिपत्र सत्तारूढ पाँच दलको केन्द्रीय परिपत्र भए पनि चितवन जिल्लामा कस्तो गठबन्धन बन्ने भन्ने अझै निश्चित भइसकेको छैन ।एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेको चितवन जिल्लामा गत स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा जितेको थियो । काँग्रेसले इच्छाकामना गाउँपालिकामा मात्र जितेको थियो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा एमालेले जितेको थियो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने जिल्लामा सातवटै स्थानीय तहमा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार एमालेले भरतपुर महानगरपालिका प्रमुख र १५ वटा वडाका वडाध्यक्ष र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा पार्टीले सर्वसम्मतिले उम्मेदवार चयन गरिसकेको छ । एक÷दुई दिनभित्र जिल्लाका वडाको उम्मेदवार तय गर्ने तयारी भएको भन्दै मिल्न नसकेका स्थानको हकमा प्रदेश कमिटीमा पठाउने र निर्णय गर्ने न्यौपानेले बताउनुभयो ।काँग्रेसका जिल्ला सभापति खनालले जिल्लामा आएका नामावली रायसहित प्रदेश समितिमा पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका सातवटा पालिकामध्ये कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखमा निर्विरोध सिफारिस भएको छैन । उहाँले गठबन्धनलाई मान्ने तर महानगरको प्रमुख पद काँग्रेसले पाउनुपर्ने जिल्ला पार्टीको ‘वटम लाइन’ भएको दाबी गर्नुभयो ।माओवादी केन्द्रको जिल्ला समन्वय समिति चितवनका संयोजक रामचन्द्र अधिकारीका अनुसार पार्टीले भरतपुर महानगरबाहेक अन्य स्थानीय तहमा अझै निर्णय गरिसकिएको छैन । गठबन्धनका स्थानीय नेतृत्वबीच औपचारिक अनौपचारिक छलफल भइरहेको भन्दै उहाँले भन्नुभयो, “पाँच गतेभित्र जिल्लाबाट केन्द्रमा गठबन्धनका उम्मेदवारको नामावली पठाउने गरी तयारी भइरहेको छ ।”भरतपुर महानगर यतिबेला देशकै बहसको केन्द्रमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला र उहाँको निर्वाचन क्षेत्रमा पर्ने भएर मात्र होइन उहाँकी छोरी वर्तमान महानगर प्रमुखसमेत हुनुहुन्छ । गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय भइरहँदा महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस दुवैले दाबी गरिरहेका छन् । माओवादी केन्द्रले नगरप्रमुख दाहाललाई नै दो¥याउने तयारीमा छ । उता काँग्रेस महानगरको नेतृत्व छोड्ने पक्षमा देखिँदैन । २०७४ को स्थानीय तहको निर्वाचनमा छ पालिकामा एक्लाएक्लै उम्मेदवारी दिएको काँग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका थिए ।अन्योलमा गठबन्धनका दल सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्लामा गठबन्धनमा रहेका दलहरू उम्मेदवार छान्न अलमलमा परेका छन् ।नौवटा स्थानीय तहमा गरी ७९ वटा वडा रहेको सिन्धुली जिल्लामा नेकपा एमालेले उम्मेदवार टुङ्ग्याउँदै गएको जनाएको छ । कुन पालिका र वडा कसलाई भन्ने भागबन्डा नटुङ्गिँदा उम्मेदवार चयन प्रक्रिया अघि बढ्न नसकेको गठबन्धनमा रहेका राजनीतिक दलहरूले जनाएका छन् ।नेपाली काँग्रेस सिन्धुलीका सचिव ईश्वर बस्नेतले वैशाख ३ गतेसम्म उम्मेदवार टुङ्ग्याएर प्रदेश समितिमा पठाउन केन्द्रबाट सकुर्लर भएकोले त्यति बेलासम्म सबै कुरा मिल्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “जुन पालिकामा जुन दलले जितेको छ, त्यो उसैलाई र वडाको हकमा भोटका आधारमा भागबन्डा गर्ने तयारी भएको छ । कतै भूगोल मिलाउन तलमाथि हुन सक्छ ।” जिल्लाका नौवटा पालिकामध्ये काँग्रेसले तीन, नेकपा माओवादी केन्द्रले तीन र नेकपा एमालेले तीनवटा पालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेका थिए । गठबन्धनको मुख्य दल काँग्रेसको तीनपाटन गाउँपालिका, फिक्कल गाउ“पालिका र दुधौली नगरपालिकाले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीमध्ये तीनपाटनमा काँग्रेसले गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई पुनः अध्यक्षमा उठाउने सर्वसम्मत सिफारिस गरेको छ ।नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ दाहालले गठबन्धनको विषय टुङ्गो नलाग्दा अन्योल नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठक बस्ने तयारीमा छौँ । पहिल्यै उम्मेदवारी घोषणा गर्दा गठबन्धनमा हुने भागबन्डामा कुन कसलाई पर्छ यकिन नभएकाले पछि उम्मेदवारी फिर्ता गर्नुपर्ने हुन्छ कि भन्ने अन्योल छ ।”गठबन्धनमा रहेका दलले बनाएको पालिका स्तरीय संयन्त्रले आफ्नो प्रतिवेदन बुझाइसकेकाले त्यसलाई अध्ययन गरी टुङ्गोमा पुगिने उहाँको भनाइ छ । निर्वाचन लक्षित पार्टी कार्यक्रम र गतिविधि भने भइरहेको उहाँले सुनाउनुभयो ।उता नेकपा एमालेले भने नौवटा पालिकामध्ये गोलन्जोर र मरिण गाउँपालिकामा अध्यक्ष सर्वसम्मत चयन गरेको छ । गोलन्जोर गाउँपालिकामा शङ्कर बराल र मरिण गाउँपालिकामा गोविन्दलाल माझीलाई अध्यक्षमा उठाउने पालिका स्तरीय कमिटीले सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा सिफारिस गरेको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “अन्य पालिकामा अध्यक्षको आकाङ्क्षी धेरै भएकाले जित्ने आधार के हो भनी आकाङ्क्षीबीच छलफल चलाइरहेका छौँ । अब सबैको नाम प्रदेश कमिटीमा पठाउछौँ ।” वडाध्यक्षको हकमा भने अधिकांश वडामा उम्मेदवारी टुङ्गिसकेको उहाँको भनाइ छ ।आकाङ्क्षी धेरै हुँदा समस्या दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार स्थानीय निर्वाचनका लागि दोलखामा क्रियाशीला दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भएको छ । स्थानीय तहका प्रायः सबै पदमा आकाङ्क्षी धेरै हुनुका साथै गठबन्धनले समेत आफूले पाउने पालिका टुङ्ग्याउन नसक्दा उम्मेदवार छनोट गर्न सकस भएको बताइएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच आउँदो आइतबारसम्म स्थानीय तहको भागबन्डा टुङ्ग्याउने सहमति भएको छ । दोलखाका काँग्रेस सभापति बर्मा लामाले भन्नुभयो, “एक त गठबन्धन अर्कोतर्फ हरेक पदमा पाँच÷सात जना आकाङ्क्षी देखिएका छन् । पहिला पालिकाको भागबन्डा टुङ्गिन्छ, त्यसपछि पार्टीको उम्मेदवार टुङ्ग्याउनुपर्छ । तालमेल भए पनि नभए पनि ७ गते संसदीय समितिमार्फत उम्मेदवार टुङ्गो लगाउनैपर्छ । विधानले दिएको अधिकार प्रयोग गरी सात गाउँपालिकाको यहीँबाट र दुई नगरपालिकाको केन्द्रमा सिफारिस पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पार्टीको विधानअनुसार नगर÷पालिकाले सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिसकेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले भन्नुभयो, “काँग्रेस चार, माओवादी चार र नेकपा एसलाई एउटा स्थानीय तह दिने गरी तालमेल गर्ने सहमति भएको छ । नगर र पालिका तोक्न बाँकी छ । यो टुङ्गो लागेपछि उम्मेदवार छनोट भइहाल्छ । आकाङ्क्षी धेरै भए पनि पालिकाले छनोट गर्ने भएकाले त्यति सकस नहोला । नेकपा एमालेमा पनि आकाङ्क्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न सकस नै भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले भन्नुभयो, “पालिकाभन्दा नि नगरमा धेरै आकाङ्क्षी देखिएका छन् । आन्तरिक छलफल सघन रूपमा चलिरहेको छ । सर्वसम्मतीबाटै उम्मेदवार छनोट हुनेमा आशावादी छौँ ।” गठबन्धन छलफलमा सीमितसिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न दलहरूलाई सकस भएको छ । स्थानीय सरकारको नेतृत्वमा लिन आकाङ्क्षीहरूको सङ्ख्या बढेपछि पार्टीहरूले पालिकादेखि वडासम्मको उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । चुनावमा तालमेल गर्न सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनले कुन पालिकामा कसरी तालमेल गर्ने भन्नेबारे अहिलेसम्म सहमति गर्न सकेका छैनन् । सत्ता गठबन्धन छलफलमा मात्रै सीमित भइरहेको छ । उम्मेदवारको मनोनयन दर्ता गर्न अब १२ दिन बाँकी छ तर अहिलेसम्म गठबन्धनका दलहरूले आफूले पाउने पालिकाका विषयमा छलफलसमेत अगाडि बढाएका छैनन् र कुन स्थानीय तह आफूले पाउने भन्नेमा अल्झेका छन् । बरु गठबन्धनका दलहरू आआफ्नै उम्मेदवार छनोट गर्न व्यस्त छन् । सत्ता साझेदार नेपाली काँगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाले पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष र सदस्यहरूका उम्मेदवार सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न सकेका छैनन् । वडा सदस्यदेखि पालिका अध्यक्ष, प्रमुखसम्म दर्जन आकाङ्क्षी भएपछि उम्मेदवार छनोटमा विवाद बढेको छ । एकीकृत माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुवोध’ले गठबन्धन दलबीच छलफल चलिरहेको जानकारी दिनुभयो । आआफ्ना धाराण राख्ने, कुन पालिका र वडा कुन पार्टीले पाउने भन्नेबारे छलफल जारी रहेको उहाँले बताउनुभयो । काँगे्रस र माओवादीसहितका दललाई बराबरको भागबन्डा मिलाइनुपर्नेमा माओवादीको दाबी छ । माओवादीले पालिकादेखि वडासम्मका सिफारिस वैशाख ५ गतेभित्र प्रदेश कमिटीमा पठाउने भएको छ । काँगे्रसका जिल्ला सभापति जङ्गबहादुर लामाले सत्ता गठबन्धन दलबीच सकरात्मक छलफल चलिरहेको बताउनुभयो । “निश्चित आधार र मापदण्ड बनाएर पालिकादेखि वडासम्मको भागबन्डा मिलाउन लागिरहेका छौँ,” सभापति लामाले जानकारी दिनुभयो । सत्ता गठबन्धनका दललाई कुन र कति स्थानीय तह दिन सकिन्छ भन्नेबारे पार्टीमा छलफल जारी रहेको भन्दै पालिकाको उम्मेदवार तय गरी वैशाख ३ गतेभित्र प्रदेश समितिमा पठाइने जानकारी दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष कमल नेपालले वडा सदस्यदेखि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहितको आकाङ्क्षीको सूच बागमती कमिटीमा बुझाउन लागिएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने भए पनि कतिपय स्थानमा राप्रपा नेपालसँग गठबन्धन गरेर जाने कि भन्नेबारे छलफलमा उठेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा रहेका छन् । गठबन्धनको निर्णय कुर्दै एमाले बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार स्थानीय निर्वाचनको मिति आउन २८ दिन बाँकी रहँदा राजनीतिक दलहरू उम्मेदवारहरू छनोटमा अझै अलमलमा रहेका छन् । कुन पालिका र वडा कसरी टुङ्गो लगाउने भन्नेमा सत्ता गठबन्धनका दलहरू छलफलमा रहेका छन् । उता नेकपा एमालेलगायतका दलहरू गठबन्धनका दलहरूको उम्मेदवारको आधारमा आफ्नो उम्मेदवार खडा गर्ने दाउमा रहेका छन् । गठबन्धमा रहेका नेपाली काँग्रेस, नेकपा माओावादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच बढी पालिका र वडा पाउनुपर्ने आआफ्नो दाबी कायमै रहेका कारण पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । काँग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई्रंले गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने विषयले गर्दा हालसम्म उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँले गठबन्धनमा रहेका दलबीच तालमेलबारे छलफल भइरहेको भन्दै पालिका र वडाको विषयमा टुङ्गो लगाउनका लागि शुक्रबार बैठक बोलाइएको बताउनुभयो । यसैगरी नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेलले हालसम्म एक गाउँपालिका र ३८ वटा वडामा सर्वसम्मत उम्मेदवारको टुङ्गो लागेको बताउनुभयो । उहाँले जिल्लाको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको भन्दै ४५ भन्दा बढी वडामा सर्वसम्मत रूपमा उम्मेदवारको चयन भएको बताउनुभयो । उहाँले आकाङ्क्षी बढी भएका स्थानमा सर्वसम्मत गर्न छलफल अघि बढाइएको बताउनुभयो । माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङले गठबन्धनमा रहेका दलबीच सहमति गरेर निर्वाचनमा जान छलफल भइरहेको भन्दै देखिएका समस्या स्थानीयतरमा नै समाधान गरेर जाने विषयमा गठबन्धनका दलहरू एक रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी जिल्ला सचिव दीपक गौतमले गठबन्धनमा रहेका दलबीच आआफ्नै अडान कायम भएकोले उम्मेदवारको टुङ्गो लाग्न नसकेको बताउँदै शुक्रबार र शनिबार बस्ने गठबन्धनका दलहरूको बैठकले पालिका र वडा टुङ्गो लगाउने र टुङ्गो नलागेमा एक्लै निर्वाचनमा जाने बताउनुभयो । यसैबीच नेपाल मजदुर किसान पार्टीले जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाउँपालिकामा उम्मेदवारी दिने प्रस्ताव केन्द्रमा गरेको जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँले वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने बताउनुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठले जिल्लाको १३ वटै पालिका र १३५ वटै वडामा उम्मेदवारी दिने भन्दै अन्य पार्टीसँग तालमेल नहुने बताउनुभयो ।
बहुउपयोगी महुवा सङ्कलन सुरु
धनगढी समाचारदाताधनगढी, वैशाख २ गते । जङ्गलमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको याम सुरु भएको छ । महुवाको रुखबाट फूल झर्न थालेपछि कैलालीको वन क्षेत्र आसपासका बासिन्दाले महुवा सङ्कलन गर्छन् । वसन्त ऋतु सुरु भएसँगै महुवाको रुखबाट फूल झर्ने गर्छ । सोही फूल स्थानीयवासीले सङ्कलन गर्ने गर्छन् । स्थानीयस्तरमा महुवाबाट सुगन्धित रक्सी बनाउने गरिएको छ । अहिले गहुँ भित्र्याउने चटारो भए पनि महुवा बटुल्नेको पनि कमी छैन । खास गरेर ज्येष्ठ नागरिक, बालबालिका महुवा बटुल्न वन पस्ने गरेका छन् । गहुँ भित्र्याउने चटारोसंँगै अहिले महुवा बटुल्ने काम पनि भइरहेको भजनी नगरपालिका–३ का विक्रम चौधरीले बताउनुभयो । “स्थानीय गाउँवासीले महुवाको रक्सी बनाउने गर्छन्,” उहाँले भन्नुभयो, “यसको रक्सी राम्रो हुने गरेकाले महुवा बटुल्नेको वनमा तँछाडमछाड नै हुने गरेको छ ।”महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको छ । राम्ररी अध्ययन गरेर यसको थप सदुपयोग गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने संरक्षणकर्मीसमेत रहनुभएका विजयराज श्रेष्ठ बताउनुहुन्छ । “महुवा बहुउपयोगी फूल हो । यो धेरै चिजमा औषधिको रूपमा काममा आउन सक्छ,” उहाँले भन्नुभयो, “तर यसको बारेमा विस्तृत अध्ययन नभएका कारण गाउँघरमा केवल रक्सी बनाउन मात्रै महुवा सीमित छ ।” महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिको वृक्षको फूल हो । वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्छ । झरेको फूललाई स्थानीयवासीले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्छन् । महुवा शक्तिवद्र्धक जडीबुटी रहेको कतिपयको बुझाइ छ । महुवा दूध वा तातोपानीमा मिसाएर खाए पनि शरीरलाई धेरै फाइदा गर्ने गरेको बताउँछन् । महुवा परम्परागत रूपमा स्थानीय थारू समुदायले प्रयोग गर्ने औषधीय गुण भएको जडीबुटी रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । “औषधीय गुण भएको यसलाई थारू समुदायले रक्सी बनाउन प्रयोग गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “यो के–केमा उपयोगी हुन सक्छ भन्ने पत्ता लगाउन हामी अनुसन्धान गर्नेछौँ ।” महुवा बहुउपयोगी हुन सक्ने भन्दै उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
संरक्षित वनको क्षेत्रफल बढ्यो
ललित बसेलसुर्खेत, वैशाख २ गते । नेपालको सुर्खेतस्थित काँक्रेविहार संरक्षित वनको क्षेत्रफल वृद्धि भएको छ । केही दिनअघि प्राविधिक टोलीले नापजाँच गरेर काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल वृद्धि भएको पाइएको हो । पहिले १६७ हेक्टर क्षेत्रफल भनिएको उक्त वनको क्षेत्रफल अहिले पुनः नापी गर्दा १७६.७७ हेक्टर भएको छ । नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले काँक्रेविहार संरक्षित वन क्षेत्रफलको क्षेत्र पुनः नापजाँच गर्दा पहिलेको तुलनामा बढेको पाइएको बताउनुभयो । उहाँले अब काँक्रेविहारको क्षेत्रफल १७६.७७ हेक्टर कायम भएको जानकारी दिनुभयो । यसअघि काँक्रेविहार क्षेत्रफलका बारेमा केही अन्योल थियो । नापी कार्यालय सुर्खेतको नक्साङ्कनमा काँक्रेविहारको क्षेत्रफल १६७ हेक्टर र राजपत्रमा १७५.५ हेक्टर थियो । पुनः गरिएको नापचाँजले काँक्रेविहारको क्षेत्रफल यकिन भएको प्राविधिक टोलीले जनाएको छ । पुनः नक्साङ्कनले पहिलेको तुलनामा काँक्रेविहारको क्षेत्रफल केही बढेको देखाएको हो । आफूहरूले काँक्रेविहारको क्षेत्रफल केही बढेको रिपोर्ट बनाएर पठाइएको जानकारी नापी प्रमुख थापाले दिनुभयो । अत्याधुनिक प्रविधिबाट काँक्रेविहारको पुनः नक्साङ्कन भएकाले अब काँक्रेविहारको क्षेत्रफल नाप गरेअनुसारको नै हुने उहाँको भनाइ छ । यस्तै डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले पनि समग्रमा काँक्रेविहारको क्षेत्रफल पहिलेको तुलनामा केही बढेको पाइएको बताउनुभयो । केही स्थानमा काँक्रेविहारको क्षेत्रफल अतिक्रमण भएको रहेछ भन्दै उहाँले पुनः नक्साङ्कनले अतिक्रमित क्षेत्रको समेत पहिचान गरेको जानकारी दिनुभयो । यसअघि काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुन सक्ने आशङ्कामा स्थानीयले बारम्बार आवाज उठाएका थिए । गत असोजमा पर्खाल लगाउने विषयमा विवाद भएपछि अदालतमा रिट परेको थियो । उच्च अदालत सुर्खेतले अल्पकालीन सुनुवाइ गर्दै काँक्रेविहारको पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारी तथ्याङ्कमै काँक्रेविहारको क्षेत्रफल फरक–फरक भएका कारण डिभिजन वन कार्यालयलाई क्षेत्रफल यकिन गर्न भनिएको थियो ।
पाँच वर्षमा अठहत्तर किलोमिटर सडक
बेलिना थापा लमजुङ, वैशाख २ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा ७८ किलोमिटर सडक निर्माण गरेको छ । २०७४ मा स्थानीय तह निर्वाचनपछि गाउँपालिकामा आएका जनप्रतिनिधिको सक्रियतामा गाउँ–गाउँमा सडक सञ्जाल पुगेको हो । जनप्रतिनिधि गाउँ–गाउँ, टोल–टोल पुगेर नागरिकको समस्या बुझ्ने र समाधान गर्ने क्रममा सडकको समस्या भएका ठाउँमा सडक पु-याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सडक नपुगेको ठाउँमा सडक पु-याउने काम गरेको बताउनुभयो । सडक सञ्जाल नजोडिएको ठाउँका नागरिकलाई आउजाउ गर्न, सामान ढुवानी गर्न समस्या भएपछि बजेट व्यवस्थापन गरी सडक पु-याएको बताउनुभयो । गाउँपालिकाका नौवटा वडाका गाउँ–गाउँमा सडक सञ्जालले छोएको बताउनुभयो । सडक अभावमा विद्यालय जान, स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जान, सहरबजार झर्न नागरिकलाई समस्या थियो । घण्टौँ हिँडेर जानुपर्ने बाध्यता थियो । अहिले सवारीसाधनमार्फत सहजै आवातजावत गर्न पाएका छन् । स्थानीय सरकार आएपछि सडक पुगेको र नागरिकले खुसी र सुखी अनुभव गरेका छन् । स्थानीय सरकारले गरेको कामप्रति नागरिक हर्षित छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार पाँच वर्षमा ७८ किलोमिटर नयाँ सडक निर्माण भएको छ । ३४ किलोमिटर सडक स्तरोन्नति भएको छ । सडक सञ्चालन भएका तर सहज नभएका सडक स्तरोन्नति भएको हो । गाउँपालिकाभित्र हाल कुल सडक सञ्जाल १२९ किलोमिटर रहेको बताउनुभयो । नागरिकको चाहना, माग र आवश्यकताअनुसार नै बजेट व्यवस्थापन गरी काम हुँदै आएको उहाँले बताउनुभयो ।
ट्रयाक खुलेको पन्ध्र वर्षपछि : बेनी–तातोपानी सडक कालोपत्रे
ठाकुरप्रसाद आचार्य बेनी (म्याग्दी), वैशाख २ गते । म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक कालोपत्रे गर्न थालिएको छ । सडक ट्र्याक खुलेको डेढ दशकपछि पहिलो चरणमा बेनीदेखि तातोपानीसम्म नौ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । सडकमार्ग खुलेको १५ वर्षपछि जिल्लाको रणनीतिक महŒवको बेनी–दरबाङ सडकको बेनीबाट–तातोपानी खण्ड कालोपत्रे गर्न थालिएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना चार वर्षअघि सुरु गरिएको थियो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको हो । जिल्लाका सरोकारवाला निकायहरूको खबरदारीका कारण पछिल्ला केही महिनायता निर्माण व्यवसायी सडक बनाउन जुटेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राखेर अलकत्रा राख्न थालिएको बताउनुभयो । बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक वैशाख १५ भित्र कालोपत्रे गरिसक्ने योजनाका साथ धमाधम काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार आठ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो । ठेकेदार लामा–समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले वैशाख १५ भित्र कालोपत्रे गरिसक्न मजदुर र उपकरण परिचालन गरेर दैनिक १४ घण्टासम्म काम गरेको बताउनुभयो । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक एक सय मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ । २०७४ साल असोज ४ गते ४५ करोड रुपियाँ ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण गरिसक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ सालमा मार्ग खुलेको बेनी–दरबाङ सडक वर्षामा बाढी र पहिरोले दैनिक अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपियाँमा २०७६ साल जेठमा बिरुवा–क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म उक्त खण्डमा ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।
सहकारीमार्फत किसानलाई उन्नत जातको भैसी बितरण
वासुदेव शर्माजाजरकोट, बैशाख १ गते । जाजरकोटको एक सहकारी संस्थाले उन्नत जातका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको बार्षिक स्वीकृत कार्यक्रमअनुसार नलगाड नगरपालिका ५ पन्चासे बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहकारीमा आबद्ध दश जना किसानलाई दश वटा भैसी वितरण गरेको हो ।कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशु पालन गर्दैआएका ब्यावासयिक किसानको आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन पन्चासे बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार रुपियाँका दरले दश वटा दुहुना भैसी वितरण गरेको छ । पशुपालन ब्यबसायले आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत पशु अस्पताल तथा पशु सेवा कार्यालयले प्रदान गरेको ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रमको पन्ध्र लाख र सहकारी संस्थाको चार लाख ५० हजार रुपियाँ अनुदान सहयोगमा नेपालगन्जबाट खरिद गरी ६ वटा पाडासहितका दुहुना, चार वटा असारमा बच्चा दिने भैसी संस्थाले खरिद गरी बितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउने माध्याम सहकारी भएकाले पशुपालन पेशामा संलग्न, सहकारी संस्थामा आबद्ध किसानलाई व्यावासयिक उत्पादनमुखी आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत प्राप्त बजेट पंन्चासे बहुउद्देश्यीय सहकारी संस्थालाई दिएको सो कार्यालयले जनाएको छ । संस्थाले भैसी खरिद गरी किसानलाई वितरण गरेको कार्यालय प्रमुख भक्रीले बताउनुभयो ।कृषि पशुपालन व्यवसाय गर्दैआएका सरकारी रोजगारी नभएका नलगाड ५ का गणेशप्रसाद गौतमले भैसी पाउदाँ ज्यादै खुसी लागेको बताउनुभयो । भैसीको दुधबाट आत्मनिर्भर, आयआर्जनमा सुधार आउने उहाँले बताउनुभयो । नेपाल सरकारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आजको बचत, भोलीको आधार सहकारी नै भएकाले किसानलाई आधुनिकमैत्री प्रविधि उपकरण, मौसमी, बेमैसमी तरकारीका विउ विजन फलफुलका विरुवा बितरण गर्दैआएको प्रवन्धक किशोर रावलले बताउनुभयो । २०६५ सालमा २५ जनाले झोलाबाट शुरु गरेको सहकारी संस्थामा हाल सात सय ६४ जना शेयर सदस्य रहेका छन् ।
बाँकेमा सत्ता साझेदार दललाई गठबन्धन गर्न सकस
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । बाँके जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलहरुलाई गठबन्धन गर्न समस्या भएको छ । साझेदार दलहरुले नै विभिन्न पालिका नछोड्ने घोषणा गरेका कारण गठबन्धन गर्न सकस भएको दलका अगुवाहरुले बताएका छन् ।जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको, काँग्रेसले कोहलपुर र नेपालगञ्जमा दावी नछोडेको र माओवादीले पनि नेपालगञ्ज र कोहलपुर मागेकाले गठबन्धनमा समस्या आएको हो ।जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । काँग्रेस र माओवादीले पनि तीनै पालिकामा आफ्नो दावी गरेका छन् ।जसपाले चारवटा पालिकामा दावी नछाडेपछि काँग्रेसले पनि गत निर्वाचनमा जितेको राप्तीसोनारी, डुडुवा र दोस्रो भएको कोहलपुर र नेपालगञ्जमा कुनै पनि हालतमा दावी नछाड्ने काँगे्रस बाँकेका सचिव सुधान्सु कोइरालाले बताउनुभयो ।जसपाको निर्णयका कारण बाँकेमा आसन्न निर्वाचनका लागि गठबन्धन बन्ने नबन्ने विषयमा अन्यौल उत्पन्न भएको कोइरालाको भनाई छ । माओवादी केन्द्रले पनि नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा आफ्नो दावी नछोड्ने अडान लिएको माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले बताउनुभयो ।जसपा, काँग्रेस र माओवादीको अडान कायमै रहेमा नेकपा एकीकृत समाजवादीका लागि कुनै पनि पालिका बाँकी नरहने गुनासो सो दलका नेता अशोक कोइरालाको छ । तर सत्ता साझेदार दलहरुवीच सहमति बन्ने र गठबन्धन बनाएर निर्वाचनमा जाने अवस्था आउनेमा आफु आशावादी रहेको माओवादी केन्द्रका संयोजक तुफानले बताउनुभयो ।
सुदूरपश्चिममा विसु पर्वको रौनक, बटुक खाएर सिस्नु लगाउने चलन
गोकर्ण दयाल बैतडी, वैशाख १ गते । बैतडीसहित सुदूरपश्चिममा विसु पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई विसु पर्वका रुपमा मनाउँदै सेल, पुरी, बटुक र माँणा खाएर सिस्नु लगाउने चलन रहेको छ । विसु पर्व मनाउन रोजगारीका स्वदेश तथा विदेश गएकाहरु घर फर्केर आफन्तजनसँग भेटघाट गर्दै मीठो मसिनो खाएर सिस्नु लगाउँदै विसु पर्व मनाउँने परम्परा रहेको स्थानीय बुद्धिजिवीको भनाई छ । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायमा विसु पर्व मनाउने चलन छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा विसु पर्व मनाइने गरेको किवदन्ती रहेको छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै विसु पर्व मनाउने गरिएको संस्कृतिविद चन्द्रमोहन तिवारीले बताउनुभयो । विसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको तिवारीले बताउनुभयो । विसु पर्व मनाउन भारतबाट एक वर्षपछि घर फर्केको बझाङका रामसिंह बोहराले बताउनुभयो । विसुका दिन जसरी पनि घर फर्किनु पर्ने भएकाले आफूसँगै रोजगारीमा भारत गएकाहरु घर फर्केको बोहराले बताउनुभयो । विसु पर्व मनाउन भारतमा रोजगारीका लागि गएकाहरु दैनिक दुई सयभन्दा बढी सुदूरपश्चिमेली झुलाघाट नाकाबाट स्वदेश फर्किएको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दानसिंह धामीले बताउनुभयो । चौकी ईन्चार्ज धामीले भन्नुभयो, “झुलाघाट नाकाबाट चैत महिनाभरी दुई हजार दुईसय १० जना नेपाली स्वदेश फर्किएका छन् । विसु पर्वकाबेला झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । ”विसुका दिन देवर–भाउजु, नन्द र भिनाजुलाई सिस्नो लगाएर रमाईलो गर्ने परम्परा छ । सिस्नोले छालाका विभिन्न रोग निको पार्ने जनविश्वास रहेको छ । विसु पर्वकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन समेत रहेको छ ।