• १२ साउन २०८१, शनिबार

बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिने

blog

सिराज खान 

नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाकारण बाँकेमा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

६५ किलोमिटर खुला सीमाना भएको यो जिल्लाको निर्वाचन सुरक्षालाई विशेष महत्वका साथ हेरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकाअनुसार, मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।

पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्थाबारे अध्ययन गरेर सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो ।

 स्थलगत अनुगमनपछि जिल्लाभर करिब चार हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले अति नै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइने जानकारी उहाँले दिनुभयो ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले १ हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोहीअनुसार सम्बन्धित ठाउँमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । बाँकेमा १०१ मतदान केन्द्र अति संवेदनशील ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी पनि खटाइने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

 मतदानस्थल र मतदान केन्द्रको सुरक्षाबारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुझाव माग गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।