• १ वैशाख २०८३, मङ्गलबार

गोरखापत्रमा भाषा थप

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १ गते । गोरखापत्र संस्थानले गोरखापत्र दैनिकमा थप दुई भाषा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको छ । संस्थानको यो निर्णयसँगै गोरखापत्र दैनिकमा प्रकाशन हुने भाषाको सङ्ख्या ४८ पुगेको छ । 

संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद भण्डारीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकले लोपोन्मुख अवस्थामा रहेको सन्थाल र हायू भाषालाई गोरखापत्र दैनिकमा समावेश गर्ने निर्णय गरेको हो । नयाँ वर्षको प्रारम्भसँगै थप दुई मातृभाषाको पाठ्यसामग्री प्रकाशन प्रारम्भ गरिने संस्थानले जनाएको छ । 

गोरखापत्र दैनिकको नयाँ नेपाल शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा विभिन्न छ मातृभाषाका पाठ्यसामग्री प्रकाशन गरी २०६४ असोज १ गतेदेखि समावेशी प्रकाशन प्रारम्भ भएको थियो । विभिन्न समयमा विभिन्न भाषा समावेश हुँदै विभिन्न ४६ भाषाका पाठ्यसामग्री प्रकाशन हुँदै आइरहेका थिए । मुलुकको समावेशिता र भाषिक विविधतालाई कार्यान्वयन गर्न गोरखापत्र दैनिकलाई थप समावेशी बनाउने क्रममा सन्थाल र हायू भाषालाई समावेश गर्ने निर्णय गरिएको संस्थानका कार्यकारी अध्यक्ष भण्डारीले बताउनुभयो ।

गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषिक पृष्ठमा मैथिली, तामाङ, मगर, भोजपुरी, दराई, चाम्लिङ, नेपाल, जिरेल, उर्दू, ह्याल्मो, बराम, डोटेली, बझाङी, बाहिङ, चेपाङ, अछामी, मारवाडी, ताजपुरिया, अवधी, दनुवार, लिम्बू, माझी, किसान, गुरुङ, कुमाल, बज्जिका, बान्तवा, ल्होमी, थामी, सुनुवार, उराँव, भोटे, राजवंशी, मेचे, डडेलधुरेली, याक्खा, रानाथारू, वाम्बुले, शेर्पा, कुलुङ, संस्कृत, थारू, मुगाल, धिमाल, खस जुम्ली र मगही भाषाका सामग्री प्रकाशन हुँदै आइरहेको छ । 

गोरखापत्रको भित्री पृष्ठमा दैनिक दुई वटा भाषा प्रकाशन हुने गरेको छ । संस्थान व्यवस्थापनको निर्णयानुसार यही नयाँ वर्षको वैशाखदेखि सन्थाल र हायू भाषा प्रकाशन प्रारम्भ हुने गोरखापत्र दैनिकका कार्यकारी सम्पादक तथा नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्रले बताउनुभयो ।