• १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षको पहिलो दिनमा बन्दीपुर पर्यटकले भरिभराउ

blog

बन्दीपुरमा घुम्न आएका पर्यटकहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
बन्दीपुर, वैशाख १ गते ।
नयाँ वर्ष २०८३ को पहिलो दिन मङ्गलबार तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । बढ्दो गर्मी छल्न र नयाँ वर्षको अवसरमा प्रकृतिसँग रमाउन विभिन्न स्थानबाट पर्यटकको ओइरो लागेपछि बन्दीपुरमा चहलपहल ह्वात्तै बढेको छ ।

नयाँ वर्षको आगमनसँगै बन्दीपुरका सबै होटल तथा रिसोर्टहरू पर्यटकले खचाखच भरिएका छन् । पर्यटन व्यवसायी बैसबहादुर गुरुङका अनुसार नयाँ वर्षको सुरुवातसँगै बन्दीपुरमा पर्यटकको घुइँचो लागेको हो । यस्तै, बन्दीपुर सामुदायिक होमस्टेकी पूर्वअध्यक्ष दिलकुमारी रानाले पनि हाल सबै होमस्टेमा पर्यटकको चाप बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कुनै पनि घर खाली छैनन्, सबैतिर पर्यटकले भरिभराउ छ। यसले व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ ।’’  बन्दीपुरमा बाह्रैमासै चिसो र शितल हावा चल्ने भएकाले गर्मी छल्नका लागि यो क्षेत्र धेरैको रोजाइमा पर्ने गर्दछ । यहाँ आउने पर्यटकहरूले विशेष गरी हातैले छोएजस्तो लाग्ने हिमशृङ्खला, दक्षिण एसियाकै ठूलो सिद्ध गुफा, भक्तपुरे शैलीका पुराना घरहरू र प्राकृतिक सुन्दरताको मज्जा लिइरहेका छन् ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता ठुला पर्यटकीय केन्द्रहरूको बिचमा अवस्थित बन्दीपुर पुग्नका लागि पृथ्वी राजमार्गको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा तय गर्नुपर्छ । पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी तथा विभिन्न ऐतिहासिक मन्दिरहरूले पर्यटकलाई आकर्षण गर्ने गरेका छन्। प्याराग्लाइडिङ र चट्टान आरोहणजस्ता साहसिक खेलहरूले समेत पर्यटकलाई थप लोभ्याएको छ ।