• १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा तिर्थालुको भिड

blog

नयाँ वर्षको दिन मुक्तिनाथ मन्दिरमा तिर्थालुको भिड । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), वैशाख १ गते ।
नेपाली नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा थामिनसक्नु भिड लागेको छ । बेनी–जोमसोम सडक खण्ड र हवाई मार्ग हुदै अत्याधिक संख्यामा तिर्थालु मुक्तिनाथ मन्दिरमा पुगेको मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भुषालले बताउनुभयो । कर्मचारी भुषालले भन्नुभयो, ‘‘दर्शनका लागि आउने अधिकांस नेपाली हिन्दु धर्मालम्बी हुनुहुन्छ, बिहान र सन्ध्याकालीन आरतीका लागि आउनुहुन्छ ।’’

नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार ११ हजार ७३० जनाले दर्शन गरेको थिए । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहेको छ । नयाँ वर्षमा घुमघामसहित दर्शनका लागि समेत मुक्तिनाथ मन्दिरसम्म पुग्नेमध्ये केही तिब्बतको सिमाना कोरला नाकासम्म पुगेर फर्किने गरेपनि अधिकांस मुक्तिनाथ मन्दिरबाटै गन्तव्यतर्फ लाग्ने गरेका छन् ।


पछिल्लो समय मन्दिर क्षेत्रमा तिर्थालुलाई  सुविधा थपिएपछि दर्शनका लागि सहज भएको छ । मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि सङ्कलिन भेटीबाट धारा र कुण्डमा तीन हजार १४० स्क्वायर फिट ढुङ्गा बिछइएको छ । दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरिएको छ ।

संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास रहेको छ । मन्दिर क्षेत्रमा लेक लाग्ने समस्या भएमा तत्कालै उपचारको सुविधा समेत रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता प्रमेश गुरुङले बताउनुभयो । मन्दिर भित्र रहेको ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रमा स्वास्थ्यकर्मी, स्वयंसेवकसहित सुरक्षाकर्मीको समेत उपस्थिति रहेको गुरुङले बताउनुभयो ।

हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरूप यज्ञ गरेको इतिहास छ । बौद्धमार्गी अनुसार तिब्बतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको छ । समुन्द्र सतहदेखि तीन हजार ६१० मिटरको उचाईंमा अवस्थित मुक्तिनाथ मन्दिर मुक्ति क्षेत्रको नामले चिनिन्छ । कागखोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमास्नान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने गर्दछन् ।