सन्तोष दहित
घोराही, वैशाख १ गते । घोराही उपमहानगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालय चाख्लिघाट प्रथम भएको छ । घोराही उपमहानगरपालिका–२ स्थित यस विद्यालयले गत वर्ष पनि सामुदायिकतर्फ उत्कृष्ट स्थान हासिल गरेको थियो ।
उपमहानगरपालिकाको दुर्गम क्षेत्रमा रहेको यस विद्यालयबाट परीक्षामा सहभागी सबै सातै जना विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भवानी गिरीका अनुसार परीक्षामा सहभागी कुल १०० विद्यालयमध्ये १३ वटाले मात्र शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । तीमध्ये १२ वटा संस्थागत (निजी) र एउटा मात्र सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका हुन् ।
संस्थागत विद्यालयतर्फ परीक्षामा सहभागी ६० मध्ये १२ विद्यालयको नतिजा शतप्रतिशत रहेको छ । जसमा माउन्ट भ्यु बोर्डिङका १२५, शान्तिसुधाका ३६, ग्रेड बुद्ध एकेडेमीका ३१, डिभाइन एकेडेमीका ३०, लिटिल भ्यालीका २८ र ग्लोबल एकेडेमीका २८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी प्रज्ञान एकेडेमीका २५, ज्ञानकुञ्जका २०, बालकुञ्जका २०, परोपकार पाठशालाका १४, क्यास्पियन एकेडेमीका १२ र शुभतारा एजुकेसन एकेडेमीका तीन जना विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएको महाशाखाले जनाएको छ ।
यसैबीच, यस वर्षको नतिजामा तीनवटा सामुदायिक विद्यालय भने ‘निल’ भएका छन् । सरयु आधारभूत विद्यालय भैसकुर्माका १०, अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीका २० र सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडाका १७ जना विद्यार्थी सहभागी भएकोमा सबै जना ‘ननग्रेडेड’ (अनुत्तीर्ण) भएका छन् ।