विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख १ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित कोशी नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर १ स्थित कोशी ब्यारेजदेखि करिब एक किलोमिटर उत्तरतर्फ सप्तकोशी नदीको बाँध क्षेत्रमा मंगलबार नुहाउने क्रममा सोही ठाउँका वडा नम्बर ३ पोर्ताहा घर भएका २० वर्षीय रितेश यादवको मृत्यु भएको हो ।
साथीसँग नुहाउन गएका उहाँ अचानक डुबेर बेपत्ता भएपछि घटनाबारे सुरक्षा बेस भारदहमा खबर गरिएको थियो ।
प्रहरीले खबरपाएपछि सुरक्षा बेस भारदहबाट ७ जना र इलाका प्रहरी कार्यालय भारदहबाट ७ जनाको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो ।
कोशी नदीमा नुहाएको स्थानबाट १० मिटर दक्षिणतर्फ करिब १२ फिट गहिराइमा डुबिरहेको अवस्थामा रितेशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कर्कीले जानकारी दिनुभयो ।
शवलाई पानीबाट बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।