• १ वैशाख २०८३, मङ्गलबार

विशेषज्ञ सेवा विस्तार गर्ने बुढानीलकण्ठ नगर अस्पतालको योजना

blog

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, बैशाख १ गते। बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो स्थापनाको दुई वर्षभित्र कुल ६१ हजार ८२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै आगामी वर्षदेखि विशेषज्ञ सेवाहरू थप विस्तार गर्ने लक्ष्यसहितको भावी योजना प्रस्तुत गरेको छ । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाको पहिलो वर्ष १ हजार ८०७ जनाले मात्र सेवा लिएकोमा दोस्रो वर्ष यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ३८ हजार २१६ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले हाल १४ वटा क्युरेटिभ तथा क्लिनिकल सेवा र १० वटा सार्वजनिक स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रदान गरिरहेको छ। 

अस्पतालले २४ घण्टा आकस्मिक सेवा, वर्थिङ सेन्टर, हाडजोर्नी विशेषज्ञ सेवा तथा बालरोग सम्बन्धी ओपिडी सेवा समेत सञ्चालन गर्दैआएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नगर अस्पतालले सीमित स्रोत र साधनका बाबजुद हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो । 

उहाँले स्थानीय तहका आधारभूत अस्पतालहरूलाई व्यवस्थित बनाउन प्रदेश सरकारले विशेष सहयोग र ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्यमा पहुँच वृद्धि गर्न अस्पतालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सेवाको गुणस्तरका विषयमा कुनै गुनासो भए सिधै नगरप्रमुखलाई जानकारी गराउन आग्रह गर्दै अस्पतालको सेवालाई अझ विश्वसनीय बनाइने विश्वास दिलाउनुभयो। 

त्यसैगरी उपप्रमुख अनिता लामाज्यूले राजनीतिक प्रभावभन्दा बाहिर रहेर हाम्रालाई भन्दा राम्रालाईु प्राथमिकता दिई कर्मचारी छनोट गरिएका कारण अस्पतालले उत्कृष्ट नतिजा दिन सकेको धारणा राख्नुभयो। कार्यक्रममा पूर्व नगरप्रमुख उद्धव खरेलले नगरभित्रको स्वास्थ्य स्थितिको तथ्याङ्कीय विश्लेषण गरी आगामी योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. भुपेन्द्र बस्नेत, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, नगर अस्पताल स्वास्थ्य परामर्श समितिका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइराला, अस्पतालका निर्देशक डा. सुधांशु झा लगायतका विज्ञहरूले नगरको स्वास्थ्य प्राथमिकता र विशेषज्ञ सेवाको आवश्यकता पूरा गर्ने लक्ष्यमा अस्पतालको योगदानको सराहना गर्नुभयो ।

अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवाहरू र वर्थिङ सेन्टरलाई अझ सुदृढ बनाउँदै लैजाने लक्ष्य राखेको छ।