• १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षमा बेनीको महारानी थानमा भक्तजनको भीड

blog

पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख १ गते । नयाँ वर्षका दिन म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको धार्मिक स्थल महारानी थानमा भक्तजनको भीड लागेको छ । यहाँ विशेष गरेर शनिबार र मंगलबार विशेष पूजाआजा हुने गर्दछ । 

आज मंगलबार नयाँ वर्ष भएकाले म्याग्दीका साथै पर्वत र बागलुङबाट सयौंको संख्यामा दर्शनका लागि भक्तजनहरु आएका हुन् । नयाँ वर्षको अवसर पारेर महारानीमा पूजाआजाका लागि हालसम्मकै धेरै भक्तजन आएको महारानी क्षेत्र विकास कोषका कार्यालय सचिव मञ्जु केसी घिमिरेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘आज अहिले सम्मकै धेरै संख्यामा भक्तजनहरु आउनुभएको छ । विहान देखि दिउँसो एक बजेसम्म नै महारानी थानमा भक्तजनहरुको भिड लागेको थियो ।’’ 

पछिल्लो समय भक्तजनको आगमन वृद्धी भएसँगै भेटी र चन्दा वापतको आम्दानी बढेको महारानीथान क्षेत्र विकास कोषका सदस्य ललितबहादुर जिसीले बताउनुभयो ।  

महारानीमा गरेको भाकल पूरा भएका भक्तजनहरू मंगलबार र शनिबारका दिन बोकाको बली चढाउन आउँछन् । भाकल पूरा गर्न परेवा पनि उडाउने गरिन्छ । नरिवल र पुलप्रसाद चढाएर पनि पूजाआजा गर्ने चलन छ । 

शनिबार र मंगलबार बाहेकका दिनमा पनि नियमित पूजाआजा हुने गरेको छ । नगरपालिकाले महारानी थानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ धार्मिक संरचना र अन्य पूर्वाधारहरु निर्माणलाई प्राथमिकतामा राखेको छ ।