गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १ गते । घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१/८२ को चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ्दै बजारमा पुनः चहलपहल देखिएको हो ।
राष्ट्र बैङ्कले गरेको रियलस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी अध्ययनका अनुसार पछिल्लो अवधि अर्थात् अघिल्लो आव २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको देखिएको छ ।
आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको सो अध्ययनले देखाएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आव २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्बमा झरेको देखिएको छ ।
पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको हो । तथ्याङ्कबाट रियलस्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ । साथै तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले आव २०७९/८० लाई आधार वर्षका रूपमा लिई रियलस्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैङ्कले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियलस्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रूपमा प्रकाशन गरिँदै आएको छ ।
रियलस्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारित अन्तर्गत राजीनामा कारोबारका आधारमा गरिएको छ । रियलस्टेट कारोबारको सङ्ख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियलस्टेट क्षेत्रमा गएको बैङ्क कर्जा जस्ता तथ्याङ्कका आधारमा रियलस्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
रियलस्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उपमहानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको राष्ट्र बैङ्कले जनाएको छ । साथै कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोही अनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई सो अध्ययनमा प्रस्तुत गरिएको छ ।
तथ्याङ्क अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रैमासमा न्यून र तेस्रो तथा चौथो त्रयमासमा रियलस्टेट कारोबार उच्च हुने देखिएको छ । कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ ।
कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटमा बढी कारोबार देखिएको छ ।
यस्तै घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।