• १ वैशाख २०८३, मङ्गलबार

कैलाली–बर्दिया जोड्ने तेस्रो पुल समयअगावै निर्माण सकिँदै

blog

कैलाली–बर्दिया जोड्न कर्णाली नदीमा निर्माणाधीन सनकट्टी पुल । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, वैशाख १ गते । कैलाली–बर्दिया जोड्न सनकट्टीस्थित कर्णाली नदीमा निर्माणाधीन पुल सम्पन्न लागेको छ । टीकापुर नगरपालिका र गेरुवा गाउँपालिका जोडिने यो पुल २०८३ असोजमा सक्ने गरी २०७९ पुसमा ठेक्का लागेको थियो । २०८२ फागुन मसान्तसम्ममा ९२ प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र पुल प्रयोग गर्न मिल्ने गरी काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका इन्जिनियर धीरेन्द्र सहनीले बताउनुभयो । 

कुल ७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलका १४ वटै पिल्लर बनिसकेका छन् । सहनीले भन्नुभयो, “१२ वटा स्पान ढलान भएर १३ औँ स्पान ढलानको काम भइरहेको छ । यो सकिएपछि अन्तिम स्पान ढलान हुने छ ।” बर्दियातिर पुलछेउमा नदी नियन्त्रण र २५० मिटर पक्की बाटो बनिसकेको छ भने कैलालीतिर यस्तै काम जोडतोडसाथ भइहेको छ । इन्जिनियर सहनीका अनुसार वैशाख २ देखि बिचको स्पानको काम सुरु गरेर जेठ १५ मा पुल निर्माण सकिन्छ । कैलालीपट्टीको काम सकेर असारमा पुल प्रयोगमा आउँछ । पुल बनेकोतर्फ पानी फर्काएपछि अहिले मानिसको डुङ्गा तर्नुपर्ने बाध्यता हटिसकेको छ । 

टीकापुर–गेरुवा दैनिक रूपमा पाँच सय जनाभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् । कर्णालीमा बाढी बढेपछि वर्षामा बन्द हुने र हिउँदमा डुङ्गाको सहायताले ओहोरदोहोर गर्नु पर्छ । टीकापुर गेरुवा वारिपारि भए पनि सत्ती पुलबाट आउजाउ गर्दा तीन घण्टा लाग्ने गरेको छ भने पुल बनेपछि एक घण्टाभन्दा कम समय लाग्ने छ । गेरुवा गाउँपालिका–१, सर्खोलका करण चौधरी पहिले एकतर्फी डेढ दुई घण्टा समय लाग्ने गरेकोमा अहिले एक घण्टामै दुईतर्फकै यात्रा गर्न सकिने भएको बताउनुहुन्छ । २०५० सालमा पूर्वपश्चिम राजमार्गको चिसापानीस्थित कर्णालीमा पुल बनेपछि सुदूरपश्चिम नेपालसँग जोडिएको थियो । यसपछि हुलाकी राजमार्गमा सत्तीमा टीकापुर–राजापुर जोडिने गरी दोस्रो पुल बनेको थियो । सनकट्टीमा बनिरहेको पुल कैलाली–बर्दिया जोड्ने तेस्रो पुल हो । टीकापुरमा बसोबास भएका केही मानिसले खेतबारी गेरुवा गाउँपालिकामा भएकाले पुल बनेपछि गेरुवा गाउँपालिकाका कृषि उपज टीकापुरका बजारमा आउने छ ।

त्यस्तै गेरुवावासीको शिक्षा, स्वास्थ्यमा पनि पहुँच विस्तार हुने छ । टीकापुर नगरपालिका–१ का झपट सोडारी दोहोरो बसाइ भएका मानिसले गेरुवा गएर आफ्नो खेतबारीमा काम गरेर घरै फर्किने र टीकापुर बजार आउने पनि केही घण्टामै किनमेल गरेर घर फर्किन सक्ने भएकाले यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र जनजीवन सहज हुने बताउनुहुन्छ । पुल निर्माणमा एक अर्ब चार करोड रुपियाँ र बाटो तथा नदी नियन्त्रणका लागि थप १४ करोड रुपियाँ गरी एक अर्ब १८ करोड रुपियाँको लागतमा पुल निर्माण भइरहेको छ ।