सन्तोष सुवेदी
पोखरा, वैशाख १ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइन (ब्राउनसुगर) सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पृथ्वीचोक र चाउथेबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्कबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय विपिन अधिकारी र बाराको जितपुर सिमरा नगरपालिका–२ का ३६ वर्षीय शत्रुधन ढकाल रहेका छन् । उनीहरूको साथबाट २२२ मिलिग्राम खैरो हिरोइन र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, पोखरा महानगरपालिका–१४ चाउथेबाट प्युठानको झिमरुक गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष जिसी पक्राउ परेका छन् । उनको साथबाट दुई ग्राम ५२ मिलिग्राम खैरो हिरोइन र एक थान मोबाइल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।