• १ वैशाख २०८३, मङ्गलबार

भारत, पाकिस्तान र श्रीलङ्का विजयी

blog

दक्षिण एसियाली टेनिस छनोटमा प्रतिस्पर्धा गर्दै श्रीलङ्काकी खेलाडी ।

काठमाडौँ, वैशाख १ गते । भारत, पाकिस्तान र श्रीलङ्काले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट)मा मङ्गलबार जित हात पारेका छन् । 

दोहोरो जित हात पारेको भारत छात्र/छात्रा दुवैमा विजयी भयो । छात्र/छात्रा दुवैमा भारतको पहिलो खेल हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्रतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० ले हरायो । 

समूह ‘ए’ कै छात्राको प्रतिस्पर्धामा भारतले माल्दिभ्सलाई ३–० ले हरायो । भुटान र माल्दिभ्सको लगातार दोश्रो पराजय हो । पहिलो दिन सोमबार छात्र/छात्रामा श्रीलङ्काले क्रमशः भुटान र माल्दिभ्सलाई हराएको थियो ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोतिाअन्तर्गत छात्रको समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० ले पाखा लगायो । पहिलो दिन नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

छात्राको समूह ‘ए’ को खेलमा श्रीलङ्काले पाकिस्तानलाई ३–० ले पन्छायो । दुई खेलमा श्रीलङ्काको लगातार जित हो भने त्यत्ति नै खेलेको पाकिस्तानले लगातार हारको सामना गरेको छ । पहिलो दिन पाकिस्तानमाथि नेपालले जित रचेको थियो ।

बङ्गलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी यो प्रतियोगिताबाट छात्र/छात्रा दुवैमा शीर्ष दुई स्थानमा रहने टोली एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुने छन् । एसियाली प्रतियोगिता यसै वर्ष सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुनेछ ।