रानी समाचारदाता
रानी, वैशाख १ गते । मोरङ कारागारभित्र लागुऔषध छिराउने प्रयास प्रहरीले विफल पारेको छ । यसक्रममा मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरिएको छ, जसमा एक भारतीय नागरिक पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ स्थित कारागार परिसरमा रहेको बाल सुधारगृहमा भेटघाटका लागि पुगेका दुई जनालाई शंकाका आधारमा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा भारत, बिहार सुपौल घर बताउने साहवाज अन्सारी र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ निवासी दिल्साद अन्सारी रहेका छन् ।
मोरङ प्रहरीका डिएसपी लीलाराज लामिछानेका अनुसार उनीहरू मंगलबार सुधारगृहमा रहेका व्यक्तिलाई भेट्न भन्दै कारागार पुगेका थिए । सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा उनीहरूले ल्याएको सामग्रीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध फेला परेको हो ।
प्रहरीले दुवै जनाको साथबाट १५० ग्राम गाँजा, १० पत्ता नटजासेन र पाँच पोका खैनी बरामद गरेको जनाएको छ । बरामद सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।