रामकृष्ण बोहरा
बागलुङ, बैशाख १ गते ।नयाँ वर्ष २०८३ सालको पहिलो दिन देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
भक्तजनको अत्याधिक चाप बढेपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले लाइन लगाएर मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाएको छ ।

बागलुङ कालिका मन्दिरमा बडादशैं, चैतेदशैँ र नयाँ वर्षमा भक्तजनको घुइँचो नै लाग्ने गर्छ । भक्तजनलाई व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।

आन्तरिकसँगै छिमेकी मुलुक भारतदेखि भाकल पूरा गर्न भक्तजन मन्दिर आउने गर्छन् ।नयाँ वर्षको पहिलो दिन बिहानै कालीगण्डकी स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीभाइसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने प्रचलन रहेको छ ।
नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । ‘‘मनोकांक्षा पूरा हुने विश्वासमा पूजाका लागि देशभरबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन्’’ अध्यक्ष खड्काले भन्नुभयो ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ ।

अहिलेसम्म बागलुङ कालिका भगवती मन्दिरबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ शक्तिका मूर्ति कुँदिएका छन् ।प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ । १०८ तामाका दियो जडित प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।


