• १ वैशाख २०८३, मङ्गलबार

क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

काठमाडौँ, बैशाख १ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिनुभएको छ ।

शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिइरहेका बेला उहाँले यस्तो चेतावनी दिनुभएको हो ।मङ्गलबार काठमाडौँ वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो ।

उहाँले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आआफ्नो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिनुभयो ।

सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाइदिने काम गरेको भन्दै कोलाहल मचाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।सो काममा आफूलाई सबैको सहयोगको आवश्यकता रहेको पनि सभापति थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अद्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ ।त्यसैले यो काममा कसैले पनि डिस्टर्ब नगरिदिनु होला ।कसैले म काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्दिन भन्नुहुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रिय सदस्य साथीहरु यह हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो । मैले आज शुरु गरेँ । अब वैशाख १५ गते भित्र तपाईंले पनि आ आफ्नो वडा पार्टी कार्यालयमा गएर सबै साथीहरू आ आफ्नो ठाउँमा जानुपर्छ । त्यो ठाउँबाट अद्यावधिक गर्नुपर्छ । कोही साथीहरूले विशेष अवस्थाले जान नसक्ने हुनुहुन्छ । कोही साथी देश बाहिर हुनुहुन्छ । यो सबै कुरा पार्टीले बुझेको छ । त्यस्तो अवस्थामा हामी त्यही अनुसार विशेष व्यवस्था गर्दछौँ । पार्टीको यो काममा मलाई सबैको सहयोग चाहिन्छ ।  कसैले यो सदस्यताको बारेमा केही कुरा बुझनु भएको छैन भने कृपया पार्टीको केन्द्रिय कार्यालय आइदिनु होला । महामन्त्रीले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाई दिनु हुन्छ । तर बाहिर यो सदस्यताको बारेमा यो हुन लाग्यो, त्यो हुन लाग्यो । हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाइदिन लाग्यो भनेर अनावश्यक रुपमा कोलाहल मच्चाइदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।”

कांग्रेसले विशेष कारणवश वडा पार्टी कार्यालयमा जान नसक्नेहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ ।

सभापति थापाले कांग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पार्नुभयो ।

पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढ्नु पार्टीका सबै नेता, कार्यकर्ताको दायित्व रहेको सभापति थापाको भनाइ छ ।