• १ वैशाख २०८३, मङ्गलबार

युपिभिसी उद्योग सञ्चालनको तयारी

blog

नयाँ उद्योग सिलान्यास गर्दै कार्यकारी प्रमुख होङसङ बु र रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल  

चितवन, वैशाख १ गते । कोरियन कम्पनी एसवाई प्यालनले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी गरेको छ ।

कम्पनीले ६० करोडको लगानीमा रत्ननगर वडा नं १४ पिठुवामा एसवाई युपिभिसी उद्योग सञ्चालन गर्न लागेको हो । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङसङ बुले सयुक्त रुपमा उद्योगको शिलान्यास गर्नु भएको छ ।  

आइपीओ निस्कासन गरेपछि संकलित रकमबाट उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यकारी प्रमुख होङसङ बुले बताउनुभयो । ६ महिना भित्रमा निर्माण सकेर उत्पादन सुरु गर्ने तयारी गरिएको युपिभिसी उद्योगबाट झ्याल, ढोका र पाटेसन गरी ६ प्रकारका सामग्री उत्पादन गरेर बजारमा पठाउने उहाले जानकारी दिनुभयो ।

एसवाई प्यानलले नेपाली आवासीय क्षेत्रमा गुणस्तरीय र दिगो परिवर्तन ल्याउने उद्देश्यसहित चितवनमा अत्याधुनिक युपिभिसी प्रोफाइल उत्पादन उद्योग सञ्चालनमा ल्याउनको लागी कारखाना निर्माणको कार्य सुरु भएको कार्यकारी प्रमुख बुले बताउनुभयो । 

कम्पनीले नेपाली बजारमा उच्चस्तरीय निर्माण सामग्री उपलब्ध गराउने मात्र नभई स्वदेशमै उत्पादन वृद्धि गरी औद्योगिक विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।

“नेपाली आवासीय निर्माण क्षेत्रमा नयाँ लगानी गर्ने प्रतिवद्ध छौं” उहाले भन्नुभयो “हाम्रो उद्देश्य केवल उत्पादन मात्र होइन, नेपाली जनताको दैनिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हो ।”

घरहरूको टिकाउ क्षमता वृद्धि गर्नुका साथै सुरक्षित, आरामदायी र वातावरणमैत्री आवास निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो । अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्ने, र नेपाली उपभोक्तालाई उच्च गुणस्तरको सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

उद्योग सञ्चालनपछि स्थानीय स्तरमा रोजगारी सिर्जना, सीप विकास तथा औद्योगिक वृद्धि मार्फत आर्थिक सुदृढीकरणमा योगदान हुने विश्वास कम्पनीले गरेको एसवाई प्यानलका निर्देशक अनिल सापकोटाले बताउनुभयो ।

कार्यक्रमका नगर प्रमुख सापकोटाले नगर भित्रका उद्योगहरुको सुरक्षाको लागि स्थानीय सरकार जिम्मेवार रहेको भन्दै उद्योगमा नगर भित्रकै गरिव तथा विपन्न समुदायका युवाहरुलाई रोजगारी दिनुपर्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा कम्पनीका प्रबन्धक लिथे गुन, निर्देशक ली हुवा छुन, वडा अध्यक्ष होमनाथ रानाभाटलगायतको उपस्थिति थियो । २०७४ सालमा पिठुवामा स्थापना भएको एसवाई प्यानलले घर निर्माणका सामग्री उत्पादन गरी नेपाल तथा भरत र भूटानमा समेत निर्यात गर्दै आएको निर्देशक सापकोटाले जानकारी दिनुभयो ।