• १ वैशाख २०८३, मङ्गलबार

गुल्मीमा आर्थिक गणनाका लागि तयारी पूरा

blog

छनोट हुनुभएका गणक र सुपरीवेक्षक। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख १ गते। गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ को तयारी पूरा भएको छ।

बुधवार देखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सम्पूर्ण तयारी यस जिल्लामा पूरा भएको जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो।

आर्थिक गणनाका लागि यस जिल्लाका सरोकारवालासँग छलफलसँगै स्थलगत तथ्याङ्क सङ्कलनमा खटिने गणक तथा सुपरीवेक्षकलाई तालिम समेत प्रदान गरिएको छ। साथै गणक तथा सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागिएको हो। यहाँ स्थलगत तथ्याङ्क सङ्कलनका लागि ३४ जना गणक र पाँच जना सुपरीवेक्षक छनोट गरिएको छ।

गणक तथा सुपरीवेक्षकलाई पाँच दिनको तालिम  मार्फत राष्ट्रिय आर्थिक गणनाको परिभाषा, उद्देश्य, आवश्यकता, महत्व, गणना विधि, गणनामा प्रयोग गरिने फाराम, गणनाले समेट्ने र नसमेट्ने क्षेत्र, गणक तथा सुपरीवेक्षणको काम, कर्तव्य, जिम्मेवारी, पेशागत आचरण लगायतका कुराका अतिरिक्त गणकले भर्नुपर्ने फाराम तथा प्रश्नावली भर्ने तरिका, प्लटकोडको प्रयोग बारेमा सिकाएको छ।

आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरुप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नका लागि आर्थिक गणना सञ्चालन गर्न लागिएको हो।

गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणमा सहयोग पुग्नेछ।

गणना सम्पन्न भएपछि आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्रको सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण सङ्कलनमा सहयोग पुग्ने छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना गर्न लागेको यस जिल्लाका सहायक आर्थिक गणना अधिकारी ढुण्डिराज पन्थीले जानकारी दिनुभयो।

पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो। सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो।

यसमा नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ वटा खण्डमध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलापलाई समेटिने छ। जसमध्ये खण्ड ए अन्तर्गत कृषि, वन तथा मत्स्यपालनअन्तर्गत दर्ता भएका मात्र प्रतिष्ठानलाई समेटिने भएको छ।