अमरराज नहर्की
तनहुँ, वैशाख १ गते । सुन्तलाजात फलफूलको बढ्दो बजार माग र बिक्रीको सहजतालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय तनहुँले किसानलाई सुन्तलाखेतीतर्फ आकर्षित गर्न र उत्पादन वृद्धि गराउन विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
पछिल्लो समय सुन्तला बिक्रीका लागि बजारको समस्या नहुने र किसानले घरबाटै मनग्य आम्दानी गर्न सक्ने भएकाले यो खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहन गरिएको हो ।
बजारमा सुन्तलाको माग उच्च हुनु र सजिलै बिक्री हुनुले किसानको आर्थिक आयआर्जनमा ठूलो टेवा पुर्याइरहेको छ । किसानको यही व्यावसायिक सम्भावनालाई दृष्टिगत गर्दै कृषि विकास कार्यालय तनहुँले सुन्तला, कागती र निबुवा खेतीको माध्यमबाट किसानको आयस्तर अझ सुदृढ बनाउने योजना अघि सारेको छ ।
यसका लागि ‘सुन्तला जात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम’ सञ्चालन गरिएको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । प्रमुख अधिकारीकाअनुसार, सुन्तला पकेट तथा बल्क क्षेत्रमा रहेका पुराना ५० हेक्टर बगैँचालाई सुदृढ गर्न ३० लाख रुपियाँ अनुदानको व्यवस्था गरिएको छ ।
बगैँचा सुदृढीकरणले बोटको स्वास्थ्य सुधार गर्नुका साथै फलको गुणस्तर बढाएर बजारमा थप प्रतिस्पर्धात्मक बनाउन मद्धत गर्दछ । यसका साथै, नयाँ बगैँचा स्थापनाका लागि पनि सात लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।
जिल्लामा हाल एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती फैलिएको छ, जसमध्ये ९७७ हेक्टर बगैँचाबाट उत्पादन भइरहेको छ । कार्यालयय प्रमुख अधिकारीका अनुसार यस वर्ष तनहुँका कृषकले सुन्तला बिक्रीबाटै ४५ करोड रुपियाँ आम्दानी गरेका छन्।
बजारमा माग उच्च रहेकाले उत्पादित वस्तुको बिक्रीमा कुनै झन्झट नहुने र आर्थिक रूपमा निकै फाइदाजनक हुने देखिएकाले नै यस क्षेत्रलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेर प्रोत्साहन गरिरहेको कार्यालय प्रमुख अधिकारी बताउनुहुन्छ ।