शेरबहादुर सार्की
बाजुरा, वैशाख १ गते । बाजुरामा दलित समुदायभित्रै जातीय विभेद अझै कायम रहेको पाइएको छ। यहाँ सार्की, विक, सुनार, मिजार, चँदारा, कामी, लुहार, दमाई, बादी, गन्धर्व, कुमाल, ओड, तिरुवा, परी लगायतका दलित जातजातिको बसोबास रहेको छ।
यी समुदायबिच पुस्तौंदेखि एक दलितले अर्को दलितलाई विभेद गर्ने प्रचलन नयाँ पुस्तामा पनि कायमै रहँदा जिल्लामा दलितभित्रै जातीय विभेद गहिरिँदै गएको देखिन्छ।
बुढीगङ्गा नगरपालिका–१० बदेडाका स्थानीय प्रेम नेपालीले मठमन्दिरमा पूजापाठका बेला गैरदलित मात्र नभई दलित समुदायभित्रैबाट पनि विभेद हुने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “दशैँ–तिहार तथा गाउँघरमा पूजा–पाठका बेला मलाई दमाहा बजाउन बोलाइन्छ। म गएर बजाउँछु पनि। तर खाना खाने र मन्दिरमा पूजा गर्ने बेलामा भने अझै विभेद हुन्छ।”
उहाँका अनुसार पहिले पानी खाने कुवा पनि छुट्टै थियो, जसलाई “दमाईको नाउला” भनेर चिनिन्थ्यो। अहिले धारामा पानी खाने सुविधा भए पनि घर, मठमन्दिर तथा सार्वजनिक–निजी स्थलमा अझै विभेद कायम रहेको उहाँको भनाइ छ।
त्यसैगरी बुढीगङ्गा नगरपालिका कार्यपालिका सदस्य प्रेम दमाईले पनि बाहिरी रूपमा जातीय विभेद नदेखिए पनि भित्री रूपमा गाउँबस्तीमा गैरदलितले दलित र दलितले दलितमाथि विभेद गर्ने चलन अझै रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “पालिकाले मठमन्दिर निर्माणका लागि रकम दिने गर्छ, तर त्यहीँ दलितलाई विभेद गरिन्छ। सार्वजनिक स्थलमा पनि विभेद हुन्छ, एक्लैले केही भन्न सकिँदैन।”
उहाँले एक पटक कक्षा ५ र ८ को परीक्षा अनुगमनका क्रममा सेलापाखामा जाँदा खाना खाने र बस्ने क्रममा जातीय विभेद भएको अनुभव रहेको बताउनुभयो। उहाँले यस्तो विभेद अन्त्यका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो।
अन्य जिल्लाको तुलनामा बाजुराका ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक रहेको देखिन्छ। कतिपय स्थानमा दलित समुदायलाई मठमन्दिर प्रवेशमा रोक लगाउने जस्ता व्यवहार पनि भइरहेको छ।
जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक अवस्था आदिका आधारमा गरिने भेदभाव हो।
यहाँ सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सुनार, कामी, कडारा, तिरुवा र परी लगायतका दलित समुदाय बसोबास गर्दै आएका छन्। यी समुदायभित्र पनि एक–अर्काबीच विभेद हुने गरेको छ। कामी, लुहार र सार्कीले दमाई, बादी तथा नेपाली समुदायको हातको पानी नखाने, नेपालीले गन्धर्व र बादी समुदायको हातको पानी नचलाउने जस्ता अभ्यास अझै कायम रहेको बताइन्छ।
गैरदलितले दलित र दलितले दलितमाथि जातीय विभेद गर्ने परिपाटीका कारण छुवाछुत उन्मूलनमा चुनौती थपिएको छ। राज्यले यसलाई कानुनी अपराधका रूपमा लिएको भए पनि व्यवहारमा अझै अन्त्य हुन सकेको छैन।
दलित समुदायमै एकता हुनुपर्नेमा उल्टै आपसी विभेद बढ्दै जाँदा समस्या झन् जटिल बनेको सरोकारवालाहरूको भनाइ छ।
बाहिरी रूपमा विभेद घटेको भनिए पनि बाजुराका ग्रामीण बस्तीमा आन्तरिक रूपमा छुवाछुत अझै कायम रहेको देखिन्छ। नेपालको संविधान २०७२ ले पनि छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ।
कुनै पनि व्यक्तिलाई जात, धर्म, पेसा वा शारीरिक अवस्थाका आधारमा निजी वा सार्वजनिक स्थलमा भेदभाव वा छुवाछुत गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
त्रिशक्ति दलित नेटवर्क त्रिवेणीका अध्यक्ष वीरबहादुर विकले दलित समुदायभित्रै भइरहेको विभेद अन्त्यका लागि सरोकारवालासँग छलफल तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले बाहिर विभेद छैन भन्छन् तर भित्री रूपमा यसलाई अझै बढावा दिइरहेका छन्।”
उहाँका अनुसार दलित समुदाय, महिला, समाजसेवी तथा राजनीतिक नेतृत्व सबैले आ–आफ्नो क्षेत्रबाट यस कुप्रथाको अन्त्यका लागि काम गर्नुपर्ने आवश्यकता छ।
बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानीयाँले जातीय विभेद तथा छाउप्रथा उन्मूलनका लागि पालिकाले जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “संविधानले नै विभेद निषेध गरेको छ। कतिपय स्थानमा पुरानो पुस्ताका कारण समस्या देखिन्छ। हामी सचेतनामार्फत सुधारको प्रयास गरिरहेका छौँ।”
नगरपालिकामा दलित नेटवर्कमार्फत वार्षिक रूपमा बजेट विनियोजन गरी विभेद तथा छाउप्रथा उन्मूलनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।