रलिङ समाचारदाता
रलिङ (हुम्ला), वैशाख १ गते । कर्णाली कोरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको लाक्नामा तीन दिनदेखि निर्माण अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–७, डाँडाफया ग्लालेखोरका स्थानीय नागरिकले गत शनिबारदेखि लाक्नामा निर्माणाधीन सडक अवरुद्ध गरेका हुन् ।
सडक निर्माणका क्रममा एक्साभेटरले तलपट्टि रहेको तीन वटा बाटो अवरुद्ध गरेको भन्दै स्थानीयले तीन दिनदेखि निर्माणमा अवरोध पु¥याएको सहायक ठेकेदार इन्द्र लामाले बताउनुभयो । ग्वालेखोर, पाल्टसी र मुख्य रोड जाने बाटो अवरुद्ध भएका कारण डाँडाफयाका ६५ घरधुरीका बासिन्दाले लाक्नामा निर्माण हुँदै गरेको सडकलाई अवरोध पु¥याएको स्थानीय जयबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयले गाउँतर्फ जाने सडकलाई पहिरोले अवरुद्ध बनाएपछि पुनर्निर्माणका लागि करिब १० लाख रुपियाँ माग गरेको तर ठेकेदारले नमानेका कारण सो बाटो बन्द गरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार उक्त सडकखण्डमा सामुदायिक वनसमेत परेकाले करस्वरूप स्थानीयले नियम अनुसार आर्थिक सङ्कलनलगायत तलतिरको गाउँ जाने सडक निर्माणमा ठेकेदारले ध्यान दिनुपर्ने छ ।
सडक गौरीगणेश कन्स्ट्रक्सन काठमाडौँले निर्माण गर्दै आएको छ । सडक अवरुद्ध हुँदा नाम्खा गाउँपालिका र डाँडाफयाका स्थानीयलाई सदरमुकाम सिमकोट आवतजावतमा समस्या भएको स्थानीय लोग भण्डारीले बताउनुभयो । उहाँका अनुसार कडा चट्टानी भागलाई छिटोछरितो निर्माण गरेको भए स्थानीय र सवारीसाधनलाई समेत आवतजावतमा सहज हुने थियो ।
हाल सिमकोट गाउँपालिका–१, दोजामका विजय लामाले सडक निर्माणको जिम्मा लिनुभएको छ । लाक्नामा रहेको उक्त कडा चट्टानलाई करिब दुई हप्तादेखि फोड्ने कार्य भइरहेको छ । यसअघि पनि गाउँवासीले यस्तै दुःख दिने गरेको आरोप हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीले लगाउनुभयो । उहाँले अहिले पनि यस्तो व्यवहार गरेकाले उनीहरूलाई खर्च दिन सक्ने सम्भावना नरहेको बताउनुभयो ।