• १ वैशाख २०८३, मङ्गलबार

उपल्लो मुस्ताङमा एक वर्षमा ४ हजारभन्दा बढी विदेशी पर्यटक

blog

उपल्लो मुस्ताङको लोमान्थाङमा भ्रमणमा आएका विदेशी पर्यटक। तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १ गते ।
एक वर्षको अवधिमा उपल्लो मुस्ताङमा ४ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत इलाका संरक्षण कार्यालय लोमान्थाङको क्षेत्राधिकारमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, लोमान्थाङ तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलमा विसं २०८२ वैशाखदेखि चैतसम्म चार हजार ८१ जना विदेशी पर्यटक प्रवेश गरेका छन्।

भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै अमेरिकी ३६९ जना, युरोपबाट फ्रान्सेली ३५४ जना तथा सार्क राष्ट्रबाट ७२ जना रहेको एक्याप इलाका कार्यालय लोमान्थाङले जनाएको छ।

एक्याप इलाका कार्यालय मुस्ताङका प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङमा आउने धेरै पर्यटक युरोपेली राष्ट्रबाट रहेका छन्। उहाँले भन्नुभयो, “यस वर्ष पर्यटक सिजनमा जेनजी आन्दोलनका कारण असर परेको थियो। घुम्न आउने पर्यटकहरूले मुस्ताङको सुन्दरताको प्रचारप्रसार गर्छन्।”

उहाँका अनुसार यस वर्ष असोज महिनामा पर्यटक आगमनको मुखमै आन्दोलनका कारण विभिन्न देशबाट नेपाल आउने पर्यटकले बुकिङ रद्द गरेपछि अघिल्लो वर्षको तुलनामा आगमन घटेको देखिएको छ।

विसं २०८१ मा सार्क राष्ट्रबाट २३५ जना र अन्य मुलुकबाट गरी चार हजार १५६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने २०८० मा तीन हजार ६१३ जना पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए। असोज–कात्तिक महिनामा बढी पर्यटक आउने र बैशाख महिनामा तिजी पर्व अवलोकनका लागि समेत विदेशी पर्यटक आउने गरेका छन्।

अर्ध–निषेधित क्षेत्र भएकाले पहिले पदयात्राका लागि पदमार्गदर्शक अनिवार्य हुने व्यवस्था थियो। हाल एकल पदयात्रीलाई पनि अनुमति दिइए पनि १० दिनका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र थप दिनका लागि प्रतिदिन ५० अमेरिकी डलर शुल्क लाग्ने नियम कायम छ। नयाँ नियमले पर्यटक आगमन सहज हुने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो।

उहाँका अनुसार मुस्ताङमा वार्षिक एक लाखभन्दा बढी विदेशी पर्यटक आउने भए पनि उपल्लो क्षेत्रमा भने कम मात्र पुग्ने गरेका छन्। उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकहरू कोरला नाका भन्दा पनि प्राचीन गुफा, गुम्बा, लोमान्थाङ दरबार, माटोका बस्ती, मौलिक संस्कृति र जीवनशैली अवलोकनमा समय बिताउने गरेका छन्।

नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङलाई पर्यटकका लागि खुला गरेको थियो। तर सुरक्षा संवेदनशीलताका कारण लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सम्पूर्ण वडालाई निषेधित क्षेत्रका रूपमा तोकिएको छ।